काठमाडौ । बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी ब्रिटिस काउन्सिल गोइङ ग्लोबल पार्टनरसीप अवार्ड २०२५ प्रदान गरिएको छ ।
उत्तल अवार्डको पाँच विजेतामध्ये बेलायत–नेपालबीचको सीपसम्बन्धी साझेदारी पनि पर्न सफल भएको हो । अवार्डको घोषणा अक्टोवर २८ का दिन लन्डनमा आयोजित ‘गोइङ ग्लोबल २०२५’ सम्मेलनका क्रममा गरिएको थियो । नेपाली साझेदारहरूको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि शर्माले अवार्ड ग्रहण गरेका थिए । यस साझेदारीमा बेलायतका चारवटा संस्था तथा नेपाल उद्योग वाणिज्य महासंघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईर्भटी)सहित नेपालका सार्वजनिक र निजी क्षेत्रका संस्थाहरू संलग्न छन् । अवार्ड जित्न सफल पाँचवटा परियोजनाले आफ्नो तर्फबाट दिगो विकास लक्ष्यहरूमध्ये समावेशी शिक्षासम्बन्धी एक लक्ष्यका लागि दीर्घकालीन योगदान गर्नसक्ने विभिन्न पक्षबारे प्रस्तुति दिएका थिए ।
अवार्ड विजेता अन्य साझेदारी पाकिस्तान, चीन, इजिप्ट र नाइजेरियाका थिए । ब्रिटिस काउन्सिलका डेपुुटी चिफ एक्जिक्युुटिभ केट इवार्ट बिग्सले अवार्ड हस्तान्तरण गरेका थिए । अवार्डका लागि १३ मेदेखि ८ जुनसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । गोइङ ग्लोवल पार्टनरसीप कार्यक्रममार्फत आर्थिक सहयोग प्राप्त गरेका संस्थागत साझेदारीले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । कुल एक सय पाँचवटा आवेदन परेको थियो र बृहत् मूूल्यांकन प्रक्रिया पूरा गरी उत्कृष्ट पाँच परियोजना छनौट गरिएको हो ।