वाणिज्य बैंकहरूको कुल सम्पत्ति दायित्व झण्डै ८१ खर्ब रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल सम्पत्ति दायित्व आव २०८१÷८२मा १२ प्रतिशत अर्थात् आठ खर्ब ६७ अर्ब ७८ करोड रुपैयाँले बढेर ८० खर्ब ९५ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो ।नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१÷०८२को वार्षिक प्रतिवेदनअनुसार अघिल्लो वर्ष यस्तो सम्पत्ति÷दायित्व १२ दशमलव नौ प्रतिशत अर्थात् आठ खर्ब २४ अर्ब २९ करोड रुपैयाँले बढेको थियो । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १३ दशमलव सात प्रतिशत अर्थात् सात खर्ब ८४ अर्ब ८७ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा ६५ खर्ब ३१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १३ दशमलव तीन प्रतिशत अर्थात् छ खर्ब ७४ अर्ब ७७ करोड रुपैयाँले बढेको थियो ।समीक्षा वर्षमा वाणिज्य बैंकहरूको चल्ती तथा बचत निक्षेप क्रमशः ३८ दशमलव नौ प्रतिशत र ३६ दशमलव छ प्रतिशतले बढेको छ भने मुद्दती निक्षेप दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्ष चल्ती निक्षेप १६ प्रतिशतले घटेको थियो भने बचत र मुद्दती निक्षेप क्रमशः २८ दशमलव दुई र नौ दशमलव सात प्रतिशतले बढेको थियो । वाणिज्य बैंकहरूको कर्जा तथा लगानी समीक्षा वर्षमा सात दशमलव दुई प्रतिशत अर्थात् चार खर्ब २४ अर्ब ६१ करोड रुपैयाँ २०८२ असार मसान्तमा ६२ खर्ब ९५ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरूको कर्जा तथा लगानी सात दशमलव सात प्रतिशत अर्थात् चार खर्ब १९ अर्ब ७७ करोड रुपैयाँले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव छ प्रतिशत अर्थात् तीन खर्ब ८६ अर्ब ३ करोड रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा पाँच दशमलव आठ प्रतिशत अर्थात् दुई खर्ब ४६ अर्ब ९५ करोड रुपैयाँले बढेको थियो । २०८२ असार मसान्तमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनको अनुपात ७९ दशमलव नौ प्रतिशत कायम भएको छ ।गत असार मसान्तमा वाणिज्य बैंकहरूबाट तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ३३ दशमलव २६ प्रतिशत अर्थात् १६ खर्ब एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसअन्तर्गत कृषि क्षेत्रतर्फ १३ दशमलव छ प्रतिशत र गैरकृषि क्षेत्रमा १९ दशमलव छ प्रतिशत कर्जा प्रवाहित भएको छ । समीक्षा वर्षमा वाणिज्य बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी एक दशमलव पाँच प्रतिशत अर्थात् १५ अर्ब ५८ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा १० खर्ब ३१ अर्ब १८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष उक्त लगानी एक खर्ब २४ अर्ब ७८ करोड रुपैयाँले बढेको थियो ।
प्रतिवेदनअनुसार २०८२ असार मसान्तमा वाणिज्य बैंकहरूको तरल सम्पत्ति (सरकारी ऋणपत्रमा गरिएको लगानीसहित) १७ खर्ब ४७ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस्तो सम्पत्ति कुल निक्षेपको २६ दशमलव ७१ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष उक्त अनुपात २७ दशमलव चार प्रतिशत रहेको थियो । तरल सम्पत्तिका अंशहरूमध्ये समीक्षा अवधिमा तरल कोष २८ दशमलव चार प्रतिशतले बढेकोे छ । वाणिज्य बैंकहरूको विदेशी बैंक मौज्दात ३६ दशमलव आठ प्रतिशत अर्थात् ६९ अर्ब ६३ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा दुई खर्ब ५८ अर्ब ८७ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ३३ दशमलव छ प्रतिशत अर्थात् ९१ अर्ब ५५ करोड रुपैयाँले बढेर तीन खर्ब ६३ अर्ब ८५ करोड रुपैयाँ कायम भएको प्रतिवेदनमा उल्लेख छ ।