काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग दुई को ट्रफी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय, नक्सालमा लगिएको छ । सानिमा रिलायन्स सह–प्रायोजक रहेको उक्त कार्यक्रम यही मङ्सिर १ गतेबाट कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुँदै छ । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले नेपालमा क्रिकेटको महत्त्व तथा खेलको लोकप्रियता दिन प्रति दिन बढ्दै गएको, नेपालमा क्रिकेटका उत्कृष्ट खेलाडीहरू रहेको, ती खेलाडीहरूलाई अन्तरराष्ट्रिय स्तरमा पहिचान गराउन र निजहरूको मनोवललाई उच्च राख्नुका साथै देशको छवि अन्तराष्ट्रिय जगतमा स्थापित गर्ने प्रयोजनको लागि क्यानले आयोजना गरेको एनपीएल एक उत्कृष्ट प्ल्याटफर्मको रुपमा रहेको बताए । साथै एनपीएलको दोस्रो संस्करणमा पनि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड सह प्रायोजकको रूपमा रहन पाउँदा हाम्रो कम्पनीले गर्व गर्ने वातावरण बनेको र एनपीएलको अपार सफलताको लागि कम्पनी र व्यक्तिगत तर्फबाट शुभकामना समेत व्यक्त गरे । ट्रफीको शीर्ष स्थानमा राखिएको सगरमाथाको कालापत्थरबाट निमा शेर्पा र मिङ्मा डेविड शेर्पाद्वारा सावधानीपूर्वक र जिम्मेवारीका साथ ल्याइएको यो पत्थरले ट्रफीलाई हिमालको मुटुसँग जोडने कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको सहयोगले सम्भव भएको हो ।
हाल कम्पनीले देशभर एक सय ६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी पाँच अर्बभन्दा बढी रहेको छ । २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २० हजार भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।