काठमाडौं । सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा छ्वाली कला विधा प्रशिक्षणको शुभारम्भ गरिएको छ । सेरामिकजन्य वस्तुको उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिवृद्धि गरी स्वरोजगार एवं आय आर्जनको अवसर प्रदान गर्ने उदेश्यले तालिम संचालन गरिएको हो ।
नेपालको मौलिक कला, सम्पदा तथा संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धन समेत गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको दिगो पर्यटन परियोजना (एसटीबी) अन्तर्गत नेपाल हस्तकला महसंघले लुम्बिनी साँस्कृतिक नगरपालिका १० लुम्बिनीमा ३० दिने प्रशिक्षण सुरु गरेको जनाएको छ । मसिर १ गतेदेखी संचालन भएको ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तालिमको प्रशिक्षणका प्रशिक्षकहरु सुमित्रा बराल र डेनियल तुलाधर रहेका छन् । त्यसैगरी मंसिर १५ गतेसम्म संचालन हुने १५ दिने छ्वाली कला विधाको प्रशिक्षणका प्रशिक्षक सीताराम गोसाईं र विष्णु केशरी देशेमरु छन् । प्रशिक्षण शुभारम्भ कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषदका सभापति नविन शाक्य, लुम्बिनी साँस्कृतिक नगरपालिकाका कार्यवाहक नगर प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, लुम्बिनी होटल एसोसियसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवाली महासचिव पुरुषोत्तम अर्याल, लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटन समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव ,उद्यम विकास सहजकर्ता नीरमा थारु सहभागी थिए ।