काठमाडौँ । पितृको स्मरणमा क्यानडामा रहेका नेपाली समुदायले शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन् ।
नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले मेलाको आयोजना गरेको थियो । सेन्टरका अध्यक्ष लीला भण्डारीले नेपाली संकृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् । ब्रामटनमा सन् २०१६ देखि हेरिटेज सेन्टरकै अगुवाइमा पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ । ठूलो पशुपति मन्दिर तथा बौद्ध स्तूप निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ ।
अध्यक्ष भण्डारीले बालाचतुर्दशी मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायको उक्त जमिनमा आयोजना गरिएको बताइन् । मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेशस्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरुआत गरेका थिए ।
एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने बताए । नेपाली समुदायका लागि गरिने सानाठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उनले नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।