बारा । बारामा नेकपा (एमाले) का नेता महेश बस्नेत आउने भएपछि नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । सिमरा क्षेत्रमा तनाव उत्पन्न भएपछि सम्भावित झडपलाई रोक्न प्रशासनले दिउँसो १२ बजेदेखि राति ८ बजेसम्म बुधबार सिमरा आसपास क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ।
आयोजित युवा संघको कार्यक्रममा बुधबार बाराको परवानीपुरमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाने तयारीमा थिए । झडपपछि सिमरा बजार तनावग्रस्त बनेको छ भने स्थानीयले विमानस्थलको गेट तोडफोड गरेका छन् ।
घटनापछि सिमरा विमानस्थल पूर्णरुपमा बन्द गरिएको छ । पोखरेल र बस्नेत भने काठमाडौं विमानस्थलमा छन् । सिमरा विमानस्थल कार्यालयले बुधबारको सबै उडान रद्दगर्दा यात्रुहरुलाई विमानस्थलमै अलपत्र पर्न नपरोस् भनेर एयरलाइन्सलाई पूर्व सूचना दिइएको जनाएको छ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी (सह–सीडीओ) छविरमण भट्टराईले सिमरा विमानस्थल घेराउ गर्न पुगेका जेनजी युवाहरुको भिड अघि बढेपछि स्थिति नियन्त्रणबाहिर जान सक्ने अनुमानमा सुरक्षाकर्मीले अश्रु ग्यास प्रहार गरी भिड तितर–बितर पारेको जानकारी दिए ।