काठमाडौँ । विश्वका विभिन्न देशमा आज बिहीबार विश्व बाल दिवस मनाइँदै छ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवर्द्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।
संयुक्त राष्ट्रसङ्घ आह्वानमा सन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । यस अवसरमा विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवर्द्धन गर्न युनिसेफले सबैलाई आह्वान गरेको छ ।
युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ । यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गरेका छन् ।
अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै मनाइयो
अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै परेको हुँदा संयुक्त राष्ट्रसङ्घले दिगो र समावेशी औद्योगिक प्रवर्द्धनलाई केन्द्रमा राखेर अफ्रिकाको दिगो औद्योगिक विकासमा जोड दिएको छ । अफ्रिकी अर्थतन्त्रलाई थप सक्षम बनाउन, उत्पादन क्षमता वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणका विषयलाई यो दिवसमा विशेष रूपमा उठाइन्छ ।