काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार भएको बताएका छन् ।
गृह मन्त्रालयमा बिहीबार आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले निर्वाचनका लागि आवश्यक तयारीका लागि सबै निकायलाई उच्च प्रतिबद्धताका साथ जुट्न निर्देशन समेत दिए । उनले सेवा प्रदायक निकायलाई काम कारबाही छिटोछरितो बनाउने, प्रक्रियालाई सरलीकृत गर्ने तथा सेवालाई सकेसम्म विद्युतीय माध्यमबाट प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिए । सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ । आगामी निर्वाचनका लागि आवश्यक बजेट तथा कार्यक्रम सहज रूपमा उपलब्ध भएको उनले बताए । समीक्षा क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयले दिएको सुझावलाई मनन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि उनले जनाए । मन्त्री अर्यालले मन्त्रालय मातहतका निकायले वार्षिक कार्ययोजना, ‘माइलस्टोन’ तथा आन्तरिक प्रगतिलाई नियमित समीक्षा गर्दै लक्ष्यअनुरूप परिणाम हासिल गर्नेगरी काम गर्न निर्देशन दिए ।
गृहसचिव रामेश्वर दङ्गालले सुशासन र पारदर्शितालाई कार्यसम्पादनको मूल आधार बनाई काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । विशेष गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सेवाबाट गृहमन्त्रालयको कार्यसम्पादन झल्किने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । सहसचिव तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म गृहमन्त्रालयको वित्तीय प्रगतिबारे जानकारी दिँदै चालू खर्चतर्फ २० दशमलव ९२ प्रतिशत र पुँजीगत खर्चतर्फ १० दशमलव ६५ प्रतिशत प्रगति हासिल भएको बताए ।