निर्वाचन भनेको कुनै दलविशेषको मात्र होइन । यसमा आमनागरिक पनि सडकमा ओर्लिन्छन् । त्यसकारण पनि निर्वाचनलाई निष्पक्ष र निर्भयको विषय बनाउन अत्यधिक माग हुने गर्दछ । पछिल्लो समय त्यही भइरहेको छ । सबैले भनिरहेका छन्, निकट आउन लागेको निर्वाचनलाई एउटा उत्सबका रूपमा मनाउँन पाउनेगरी वातावरण बनाऔं । यसमा कसैको भय नहोस् । यस्तो वातावरण बनाउने काम सरकारको हो । फाल्गुन २१ को निर्वाचन आउन अब करिब साढेतीन महिना मात्र बाँकी छ । यता यसमा दलीय सहभागिता हेर्नेहो भने दर्ताको हिसाबले अहिलेसम्म नै सबभन्दा बढी संख्यामा दलहरू प्रकट भएका छन् । दर्ताका क्रममा प्रष्टभएको उत्साह हेर्दा यो निर्वाचनमा प्राय सबैदल सहभागी हुने देखिन्छ । अहिले पुराना भन्दा नयाँ दल बढी संख्यामा छन् । तर यता स्वच्छ र भयरहित निर्वाचनको वातावरण भने बन्न सकेको छैन । विभिन्न प्रकारका धाकधम्कीहरू आइरहेका छन् । त्यसमाथि जेलतोडेर भागेका गम्भीर अपराधको सजाय काटिरहेका बन्दीहरूको कारागार फिर्ती भइसकेको छैन भने लुटिएका हतियारपनि बाहिर नै छन् । यस्तै बेला कसैलाई हिडडुलमा निषेध गर्ने अभ्यास पनि सुरुभएको देखिन्छ । दुईदिन अघिको सिमरा घटना त्यसको उदाहरण हो, जसप्रति सर्वत्र निन्दा भैरहेको छ ।
यदि यो घटनाप्रति प्रधानमन्त्रीले गम्भीर चिन्ता व्यक्त गर्दै लोकतन्त्रमा अराजकता कदापि स्वीकार्य नहुने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीबाट शान्ति सुव्यवस्था कायम गर्न र सबै राजनीतिक दलका नेताहरूको सुरक्षा सुनिश्चित गर्न गृह प्रशासनलाई निर्देशन दिएको जानकारी आएको छ । प्रधानमन्त्रीको भनाइमा गृहप्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन दिएको भन्ने छ । निश्चय नै लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिनेमा जोड दिँदै प्रधानमन्त्रीबाट सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन अपिल गर्नुभयो । बुधबार बाराको सिमरा विमानस्थलबाहिर भएको घटनाले सबैलाई त्रस्त बनाएको छ । यो दिन आफ्नो राजनीतिक कार्यक्रममा संसदको दोसो ठूलो दलका नेताहरू केन्द्रीय राजधानीबाट त्यसतर्फ जानलाग्दा विमान नै उड्न नदिने गरी भाँडन खोज्नेहरूले कार्यक्रम राखेको देखियो । यसमा एउटा जेनजी समूहको सहभागिता रहेको भन्ने प्रष्ट भइसकेको छ । यही समूहले यस अघि पनि कुनैपनि पुराना नेताहरूलाई घरबाट निस्कन नदिने भनेर सार्वजनिक रूपमा नै घोषणा गरिसकेको थियो । अहिले त्यही समूहले नेताहरूको आवतजावतको अवस्थालाई बिथोल्न खोज्दा यो अवस्था आएको भन्ने धेरैको बुझाइ छ ।
यसरी बिथोल्न खोजिएको सम्बन्धित दलका अध्यक्षले राजनीतिक दलको सभा बिथोलेर कस्तो चुनाव हुन्छ? भनेर जुन प्रश्न गरका छन् त्यसको चित्तबुझ्दो र भरपर्दो जवाफ आउनुपर्छ । उनको आरोप छ, दलका युवाहरूको भेला हुने क्रममा जेन–जी हुँ भन्दै ढुंगामुढा गरे । गुण्डाभन्दा नराम्रो हुँदैन होला । केही विद्वान्ले ढुंगामुढा गरेर सभा बिथोले, सज्जनले आक्रमण गरे । कसैले सभा गर्छ, भेला गर्छ भने भौतिक आक्रमण गर्ने ? भेला गर्न, सभा गर्न नदिने ? वीरगञ्ज, बारा जलाउने तिनै अपराधी भेला भएका छन् । तिनीहरूलाई कारबाही भएको छैन । तिनीहरू भेला भएर अराजकता मच्चाए । नेताहरू जाँदै हुनुहुन्थ्यो, सिमरा एयरपोर्ट बन्द भयो । नेताहरू जान पाउनुभएन । नेतालाई जानबाट रोकियो । एयरपोर्ट तोडफोड गर्न दिइयो । ५०/६० जनाले ढंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ? यो आरोप सामान्य छैन । सरकराले छानबिन गरेर जुनसुकै पक्षका भएपनि दोषीमाथि कार्बाही गनुपर्छ । त्यसो भएन भने चुनावमै असर पर्न सक्तछ ।