संसारमा अनेक प्रकारका मानिसहरू बसोबास गर्छन्। त्यसमध्ये फरक जात, भेषभूषा, भाषा, धर्म र संस्कृतिका अनेक मानिसहरू हरेक ठाउँमा पाइन्छन्। सबैका आफ्नै आस्था, मूल्य, मान्यता र परम्परा हुन्छन् । संसारमा कोही धनी छन्, कोही गरिब छन्, त कोही आस्तिक त कोही नास्तिक। तर मानव जीवनलाई सही मार्गमा लैजान सबैलाई आवश्यक हुने आधारभूत गुणहरू समान हुन्छन्। मानव सभ्यतालाई उजागर गर्ने यी गुणहरूले व्यक्ति मात्र होइन, परिवार, समाज र राष्ट्रलाई पनि विकासको मार्गमा अघि बढाउँछन् । त्यस्तै अनिवार्य गुणहरू तल क्रमबद्ध रूपमा प्रस्तुत गरिएको छ ।
१. व्यक्तिगत नैतिकता र आचार–संहिता पालन गर्ने
मानिसलाई जति धन दौलत भए पनि पुग्दैन, तर मानिसको महानता उसले कमाएको धन वा पदमा होइन, उसले अपनाएको नैतिकता र आचार–संहितामा देखिन्छ। आजको समयका मान्छेमा नैतिकता हराएको देखिन्छ—’मैं खाऊँ, मैं लाऊँ, सुख–सयल वा मोज म गरौँ। अरू मरे पनि मरोश, कसैलाई मतलब छैन।’ तर, सत्य बोल्ने, इमानदार रहने, धोका नदिने र आफ्नो काममा सदाचार राख्ने गुणले व्यक्तिलाई सम्मानित बनाउँछ। नैतिकता विना कुनै पनि सफलता दीर्घकालीन र टिकाउ हुन सक्दैन। त्यसैले नैतिकता नगुमाइ कार्य गरी अघि बढ्नु पर्दछ ।
२. अनुशासनको पालन गर्ने
मानव जीवनमा अनुशासन अपरिहार्य छ । बुझ्ने बालकदेखि वृद्धसम्म सबैलाई अनुशासित हुनुपर्ने हुन्छ। त्यसैले अनुशासन जीवनको सबैभन्दा महत्वपूर्ण स्तम्भ हो। समयपालन, जिम्मेवारी पूरा गर्ने, नियमले तोकेको सीमा भित्र रहेर अघि बढ्ने क्षमता नै अनुशासन हो। अनुशासनले व्यक्तिमा स्थिरता, विश्वास र लगनशीलता जन्माउँछ र जीवनलाई लक्ष्यमा केन्द्रित राख्न मद्दत गर्छ ।
३. कर्मठ बन्ने बानी बसाल्ने
मानिसले आफ्नो कर्म गर्नै पर्दछ। जीवनमा कर्म नगरी मानिस बस्न हुँदैन। त्यसैले कर्म नै जीवनको वास्तविक आधार हो। परिश्रम नगरी सफलता प्राप्त हुँदैन। मेहनत गर्ने, आलस्य छोड्ने र दैनिक कार्यमा सक्रिय रहने बानीले मानिसलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउँछ। कर्मठ मान्छे हरेक कठिनाइलाई अवसरको रूपमा लिन जान्छ। आज सफलता हात नपरे पनि भोलि पक्कै आउँछ भन्ने विश्वास राखेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ ।
४. धैर्य राख्ने गुण विकास गर्ने
एकै छिनमा न त धान फल्छ, न त स्याउ फल्छ, न त आकाशमा एकै छिनमा विमान नै उड्छ। यसको अर्थ के भने, कुरा पाउन पनि एकै छिनमा हुँदैन। धैर्य गर्नुपर्छ। धैर्य जीवनका कठिन मोडहरूमा मानिसलाई स्थिर राख्ने शक्ति हो। एकै छिनको निर्णयले समस्या बढाउँछ, तर धैर्यले समाधानको बाटो देखाउँछ। धैर्यवान व्यक्ति परिस्थिति बुझेर विचारपूर्वक अघि बढ्छ, जसले उसको व्यक्तित्वमा परिपक्वता र सम्मान बढाउँछ। रात परेपछि दिन आउँछ भन्ने सम्झेर अघि बढ्नुपर्छ ।
५. लोभ–मोह त्याग्ने
संसारमा कतिपय मानिसको न घरबार छ न सम्पत्ति, न त आफ्नो भन्नै कोही छन्। तर , आफ्नो जे छ, त्यसमा मानिसले सन्तुष्टि गर्नुपर्छ। अरूको सम्पत्ति, आम्दानी वा वस्तुमा लोभ गर्नु आत्मविनाशको सुरुवात हो। लोभले मन अशान्त बनाउँछ र जीवनमा असन्तुष्टि बढाउँछ। सरल जीवन र सन्तोषी मनको विकासले मात्र मानिसलाई साँचो खुशी दिन्छ । त्यसैले लोभ–मोह त्याग्नु अत्यन्त आवश्यक गुण हो। जे भयो, जे छ, त्यसमै रमाउने बानी गर्नुपर्छ। तर त्यसो भए पनि मेहनत छोड्नु हुँदैन ।
६. आदर–सम्मान गर्ने बानी बसाल्ने
हामीले मानिस वा उसको भावनाको आदर–सम्मान गर्नै पर्दछ। आदर–सम्मान कुनै पनि सम्बन्धको आधार हो। उमेर, पद वा परिस्थितिले नभइ, मानवताको आधारमा सबैलाई सम्मान गर्न सक्नुपर्छ। हुने खानेलाई आदर गर्ने वा पद र प्रतिष्ठा भएका व्यक्तिलाई आदर गर्ने र सामान्यजनलाई आदर सम्मान÷नगर्ने गर्नुहँुदैन । अरूलाई सम्मान दिने मानिस सामाजिक रूपमा प्रिय, विश्वसनीय र जिम्मेवार व्यक्ति मानिन्छ ।
७. सहयोगी भावना राख्दै अघि बढ्ने
मानिस भएर जन्मेपछि सहयोगी भावना लिएर अघि बढ्नुपर्छ। सहयोग गर्ने स्वभाव मानवीयताको सबैभन्दा सुन्दर पक्ष हो। साना–ठूला सबै अवस्थामा अरूलाई सहयोग गर्न सक्ने मनले समाजमा सकारात्मक ऊर्जा फैलाउँछ। सहयोगले सम्बन्ध प्रगाढ बनाउँछ र मानिसलाई उदार, साहसी र संवेदनशील बनाउँछ ।
८. प्रकृति संरक्षण गर्ने भावना जगाउने
हामी सबै यही प्रकृतिमा बस्नुपर्छ। यही प्रकृतिले नै हामीलाई सबै कुरा दिएको छ। त्यसैले प्रकृति मानव अस्तित्वको आधार हो। माटो, जंगल, पानी, हावा र जैविक विविधताको संरक्षण विना जीवन सम्भव छैन। भोलिको पिढीँका लागि पनि प्रकृति जोगाउनुपर्छ। यसले आउँदो पुस्तालाई पनि सुरक्षित भविष्य दिन्छ। प्रकृति बचाउनु नै मानवताको संरक्षण हो र यो मानवीय धर्म पनि हो। यो ब्रह्माण्ड सबैको हो र सबैको उत्तिकै अधिकार छ भन्ने भावनाले अघि बढ्नुपर्छ ।
९. वर्तमानमा बाँच्ने आदत बसाल्ने
पहिला जे भयो, भयो; अब सच्चिनुपर्दछ। भूतका गल्ती वा भविष्यको चिन्तामा अल्मलिनु हुँदैन र वर्तमान बिगार्नु बुद्धिमानी होइन। आजको क्षणमा केन्द्रित भएर काम गर्नु नै जीवन व्यवस्थित र सफल बनाउनु हो। वर्तमानमा बाँच्ने मानिस सधैं शान्त हुन्छ, सचेत र कार्यशील रहन्छ, जसले उसको व्यक्तित्वमा आत्मविश्वास थप्छ ।
१०. बितेका कुरामा अत्यधिक पछुतो नलिने
भएको कुरा भयो । विगतलाई सम्झेर पछुतिनु स्वाभाविक होइन र त्यसले जीवनलाई निरन्तर दुःखमा डुबाउन पनि हुँदैन। जसले पनि पाइलाको गल्तीबाट सिकेर अघि बढ्नु नै बुद्धिमानी हो। पछुतोभन्दा सुधारमा ध्यान केन्द्रित गर्ने व्यक्तिले जीवनलाई सफलता र आत्मसन्तुष्टितर्फ अगाडि लैजान्छ ।
११. सकारात्मक सोच राख्ने
जसले पनि डर मान्दैन। सकारात्मक सोच ल्याउने, सकारात्मक सोचले नकारात्मक परिस्थितिमा पनि आशा देखाउँछ। आशावादी व्यक्तिले समस्या होइन समाधान खोज्छ। सकारात्मक मानसिकताले मनोबल, स्वास्थ्य र कार्यक्षमता बढाउँछ। यस्तो सोच भएका मानिस जहाँ गए पनि प्रेरणादायी प्रभाव पार्छन् ।
१२. योग, ध्यान र व्यायामको नियमितता
शरीर र मन दुवै स्वस्थ हुनुपर्छ। योग, ध्यान र व्यायामले तनाव घटाउँछ, आत्मशक्ति बढाउँछ र जीवनमा स्फूर्ति ल्याउँछ। दैनिक अभ्यास गर्ने व्यक्तिको स्वास्थ्य राम्रो हुन्छ र मानसिक स्पष्टता पनि बलियो हुन्छ। समयमै सुत्ने र समयमै उठ्ने बानीले अनुशासन मात्र होइन, जीवनलाई बदल्छ र स्वस्थ हुन मद्दत प¥ुयाउँछ ।
१३. तनावरहित जीवनका लागि आत्म–नियन्त्रण
दीर्घस्वास फेर्ने, आकाशमा हेर्ने, जीवनलाई ठूलो सोच्ने, कृतज्ञता हुने गर्नुपर्दछ । तनाव जीवनमा समस्याको मूल कारण हो। भावनालाई नियन्त्रण गर्ने, अनावश्यक द्विविधाबाट टाढा रहने र मानसिक शान्ति कायम राख्ने कला सिक्नु महत्वपूर्ण हुन्छ। आत्म–नियन्त्रणले व्यक्ति संयमित, परिपक्व र विवेकी बनाउँछ ।
१४. रिस, ईष्र्या र द्वेष त्याग्ने
रिस र ईष्र्याले मनको शान्ति हराउँछ र सम्बन्धमा विष हाल्छ। यी नकारात्मक भावनाबाट मुक्त भएपछि मानिसभित्र शुद्धता र शान्तिको विकास हुन्छ। उदार र क्षमाशील मनले मात्र जीवनलाई सुखी र सहज बनाउँछ ।
१५. घमण्डी नबन्ने
घमण्डले पतन निम्त्याउँछ, सम्बन्ध तोड्छ र मानवीय गुण नष्ट गर्छ। सफलतामा पनि विनम्र रहन सक्ने व्यक्ति साँचो महान हुन्छ। जसलाई उस्तै व्यवहार गर्ने, अहंकार त्यागेर सरल र सहज बनेर बाँच्ने, यस्ता बानीले समाजमा सम्मान र विश्वसनीयता बढाउँछ ।
१६. देशका कानुन पालन गर्ने
हरेक नागरिकले देशको कानुन पालन गर्नु पर्दछ । कानुन पालन गर्नु सजग र जिम्मेवार नागरिकको पहिचान हो। नियम मान्ने व्यक्तिले समाजमा अनुशासन, सुरक्षा र सद्भाव कायम गर्न मद्दत गर्छ। राष्ट्रप्रति कर्तव्यबोध भएका नागरिकले मात्र देश विकासमा योगदान दिन सक्छन्। कानुन मिच्दा भ्रष्ट्राचार निम्तिन्छ ।
१७. प्रकृतिमा रमाएर प्रकृतिलाई माया गर्ने
जसले प्रकृतिलाई नजिकबाट नियाल्छ। प्रकृतिसँग नजिक हुँदा मन शान्त हुन्छ। हिमाल, पहाड, नदी, जंगल र वातावरणप्रतिको प्रेमले जीवनमा खुशी र सन्तुलन ल्याउँछ। प्रकृतिलाई माया गर्ने व्यक्ति पर्यावरण संरक्षणमा पनि जागरूक हुन्छ। यसले नयाँ ऊर्जा दिन्छ ।
१८. सहयोग र सहानुभूति राख्ने
अरूलाई परेको बेला सहयोग गर्ने। मौका छुटाउन नचाहने, अरूलाई रुवाउने, आफु मात्र हाँस्ने बानी त्याग्नुपर्छ। सहानुभूति मानवीयताको उच्चतम रूप हो। अरूको पीडा बुझेर मद्दत गर्न सक्ने क्षमताले व्यक्तिलाई संवेदनशील र महान ्बनाउँछ। सहयोगी स्वभाव भएका मानिस सामाजिक विकासका आधारस्तम्भ मानिन्छन्। परेको बेला सहयोग गर्नु नै महानता हो ।
१९. वचनमा दृढ रहने
मानिस वचनमा पक्का हुनुपर्छ। बोलि फेरिरहनु राम्रो होइन। वचन दिएपछि पूरा गर्नु विश्वसनीयताको आधार हो। आफ्नो वचनमा अडिग रहने व्यक्तिलाई सबैले भरोसालायक मान्छन्। वचन कायम राख्ने संस्कृति व्यक्ति र समाज दुवैका लागि अमूल्य सम्पत्ति हो ।
२०. अरूको मन नदुखाउने
सधैं नम्र हुने, कसैलाई नराम्रो व्यवहार नगर्ने। वचन, व्यवहार वा कामले कसैलाई चोट पु¥याउनु मानवीयताको विरोध हो। नम्रता, मितभाषिता र सज्जनता अपनाउने व्यक्तिले समाजमा प्रेम र सद्भाव फैलाउँछ। अरूलाई चित्त नदुखाइ जीवनयापन गर्नु सभ्यताको सुन्दर रूप हो ।
२१. जीवन क्षणिक हो भन्ने स्वीकार गर्दै अघि बढ्ने
जन्मपछि मर्नुपर्छ। एकदिन सबैको अन्त्य हुन्छ भन्ने भावनाले अघि बढ्नुपर्छ। जीवन अस्थायी हो भन्ने बुझ्दा अहंकार, क्रोध र लोभ घट्छ। विनम्रता, क्षमा र सरलता बढ्छ। जीवन छोटो भएकाले प्रत्येक दिनलाई महत्वपूर्ण मानेर सकारात्मक कार्य गर्न प्रेरणा मिल्छ। हरेक दिन रमाइलोसँग बिताउनुपर्छ ।
२२. थाहा नभएको कुरा नगर्ने
’म जान्ने, म सुन्ने’ भन्ने भावनामा बस्नु हुँदैन। जीवनमा सबै कुरा जान्नु सम्भव छैन। थाहा नभएको कुरामा स्वीकार गर्न सक्नु परिपक्वता हो। ढोंग गर्नाले ज्ञान होइन, कमजोरी प्रकट गर्छ। सिक्ने मन राख्ने व्यक्तिले निरन्तर प्रगति गर्छ ।
२३. विनम्र भएर झुक्न जान्ने
सधैं जित्नुपर्छ भन्ने भावनामा हुनुहुँदैन। आवश्यक समयमा माफी माग्न, गल्ती स्वीकार्न र विनम्र हुन सक्नु व्यक्तिको महानता हो। अहंकार नभइ विनम्रताले सम्बन्ध बलियो बनाउँछ। झुक्न सक्ने व्यक्ति नै वास्तवमा उठ्न सक्षम हुन्छ। यसले सानो बनाउँदैन, बरु इज्जत बढाउँछ।
२४. अत्यधिक मान–सम्मानको अपेक्षा नराख्ने
’म ठूलो, मलाई सबैले मान सम्मान गर्नुपर्छ’ भन्ने भावनालाई त्याग गर्ने बानी बसाल्नु पर्दछ। काम राम्रो गरेमा स्वाभाविक रूपमा सम्मान प्राप्त हुन्छ। तर अत्यधिक प्रशंसा खोज्ने बानीले निराशा र असन्तुष्टि ल्याउँछ। यसले जीवनमा सकारात्मक ऊर्जा ल्याउँछ ।
२५. जहाँ गए पनि सबैलाई खुशी बनाउने प्रयास गर्ने
घर, समाज, राष्ट्र वा संसार—जहाँ पुगे पनि सकारात्मक ऊर्जा फैलाउनु नै मानवताको उत्कृष्ट रूप हो। बोल्दा हाँसेर बोल्ने बानीले नयाँ ऊर्जा दिन्छ र मुस्कान, सहयोग र सद्भावले वातावरण उज्यालो बनाउँछ। सबैलाई खुशी बनाउन खोज्ने व्यक्ति समाजको रत्न मानिन्छ ।
२६. व्यक्तिगत सरसफाइमा ध्यान
व्यक्तिगत सरसफाइमा ध्यान दिनु स्वास्थ्य, आत्मविश्वास र सभ्य जीवनको मूल आधार हो। दैनिक नुहाउने, हात–खुट्टा सफा राख्ने, दाँत–मुख राम्रोसँग मञ्जन गर्ने र सफा कपडा लगाउने आदिले रोगबाट जोगाउँछ। स्वच्छता अपनाउने मानिस स्वस्थ मात्र होइन, सामाजिक रूपमा पनि सम्मानित र अनुशासित देखिन्छ। बाहिरी वातावरणमा पनि फोहोर गर्नुहँदैन ।
२७. खानपिनमा अनुशासन
स्वस्थ जीवनशैली अपनाउन खानपिनमा अनुशासन अत्यन्त महत्वपूर्ण पक्ष हो। समयमै खाने, अत्यधिक बोसो, नुन, चिनी जस्ता तत्वको मात्रा नियन्त्रण गर्ने र प्राकृतिक तथा पौष्टिक खाद्यपदार्थलाई प्राथमिकता दिने बानीले मानिसलाई रोगबाट जोगाउँछ। अनुशासित खानपानले शारीरिक स्वास्थ्यमा सुधार ल्याउँछ साथै मानसिक स्पष्टता र ऊर्जा स्तर पनि उच्च बनाउँछ, जीवन रोगमुक्त हुनसक्छ ।
२८. अनावश्यक कुरामा होहल्ला नगर्ने
सार्वजनिक स्थान सबैको साझा हो। यस्तो ठाउँमा विचारपूर्वक बोल्नु पर्दछ। अरूलाई होहल्लाले असर पुग्छ भन्ने ख्याल गरी शान्त बस्नुपर्छ। जस्तै—अस्पताल, सार्वजनिक स्थल, सार्वजनिक यातायात आदि ।
यी माथि उल्लेखित कुराले जीवनमा रस थप्ने कार्य गर्दछ । उर्जावान बनाउँछ, आफ्नै जीवन र समाज, राष्ट्र अनि विश्वमा “मानव भनेको मानव हो” भन्ने दर्शाउँछ ।