काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सजिलो नेट र एभरेष्ट इन्जिनियरिङ कलेजबीच सहकार्यका लागि सम्झौता भएको छ । बिहीबार एक समारोहमा दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित गरिएको उक्त समझदारीपत्रमा सजिलो नेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सतिश कार्की र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सजिलो नेटका तर्फबाट सीईओ कार्कीले इन्जिनियरिङको क्षेत्रमा सफल एभरेष्ट कलेजसँग सहकार्य केवल कागजका लागि मात्र नभएर साझा दृष्टिकोण र प्रतिबद्धतामा हुने बताए । उनले भने, ‘पढिसकेपछि साथीहरू जागीरका लागि आउनुहुन्छ, तर उहाँहरूसँग ज्ञान त हुन्छ तर सीप हुँदैन, त्यसलाई परिपूर्ती गर्ने हाम्रो प्रयास हो, त्यसमा सफल हुनेछौँ भन्ने विश्वास लिएका छौँ ।’ त्यस्तै क्याम्पस प्रमुख प्राडा हरिकृष्ण श्रेष्ठले कलेजबाट पास आउट भएर विद्यार्थीहरू गए पनि बजारबाट व्यावहारिक ज्ञान नभएको गुनासो आउने गरेको तर अबको सहकार्यले हदसम्म त्यो गुनासोको सम्बोधन गर्ने विश्वास व्यक्त गरे । ‘अहिले हामीलाई आउने कम्प्लेन भनेको विद्यार्थीहरूमा प्राक्टिकल नलेज भएन भन्ने छ । सजिलो नेटसँगको सहकार्यले आगामी दिनमा हामीले हाम्रा विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, व्यावहारिक ज्ञान दिन सक्नेछौँ भन्ने विश्वास छ’, उनले भने ।
साथै सजिलो नेटसँगको सहकार्यले कम्पनीका लागि मात्र नभएर देशमा दक्ष जनशक्ति उत्पादनका लागि समेत टेवा पु¥याउने विश्वास व्यक्त गरे । ‘सजिलो नेटसँगको सहकार्यले केवल सजिलो नेटका लागि मात्र जनशक्ति उत्पादन हुने छैनन्, देशलाई प्रविधिसँग जोड्ने म्यानपावर उत्पादन हुनेछ’, उनले भने । त्यस्तै क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरुणकुमार भण्डारीले अब हरेक क्षेत्रले एकले अर्कोलाई आलोचना गरेरभन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले यसले यो गर्यो, यो गर्न सकेन भनेर अरुका आलोचना गर्ने गरिन्छ । तर हामीले सहकार्य गरेर काम गरेका छौँ त ? त्यसलाई एक पटक नियाल्नुपर्दछ । त्यसका लागि यस्ता किसिमका सहकार्यले हामीलाई देशमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ’, उनले भने ।