काठमाडौं । एनएमबी बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।
यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ । सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबी बैंकले जनाएको छ ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, ’सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।’ सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।
यस सेवाको सुरुवातसँगै, एनएमबी बैंकले डिजिटल बैंकिङमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रस्ट पारेको छ । बैंकले हाल देशभरी दुई सय दुई वटा शाखाहरु, एक सय ८४ वटा एटीएमहरु र नौ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।