काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त हुने आकर्षक योजना सार्वजनिक गरेको छ । यो सर्वाधिक क्यासब्याक योजना मार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । यस योजनाअन्तर्गत, देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट खरिदमा पाँच सय रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ । ज्योति स्मार्ट एपबाट हवाई टिकट खरिद गर्दा अफर बक्समा फ्लाई पाँच सय प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त हुनेछ । साथै, पहिलो तीन सय जना मात्र यो अफरबाट लाभान्वित हुन सक्नेछन् ।
सिमित अवधिका लागि लागू हुने यो विशेष अभियान यही मंसिर ३ गतेदेखि प्रभावकारी रूपमा सुरु भएको छ । अभियान अवधिभर, ग्राहकहरूले ज्योतिस्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यासब्याकको सुविधा प्राप्त गर्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित डिजिटल सेवा पहुँच प्रदान गर्नका लागि डिजिटल बैंकिङ्ग प्लेटफर्महरूलाई थप व्यवस्थित र उन्नत बनाउँदै आएको छ । बैंकले हालैमात्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसेफ्टले प्रदान गरेको यो प्रमाणपत्रले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम व्यवस्थित रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।