काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच डिल्लीबजार, काठमाडौंमा साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी भट्टराई तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले हिमालयन इनर्जी लिमिटेडको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । हिमालयन इनर्जी लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘कालिन्चोक जलविद्युत् आयोजना’ दोलखा जिल्ला कालिञ्चोक वडा नं. एक थामी गाँउ अवस्थित रहेको छ र सो आयोजना तीन मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।
२०८१ असोज ११ गते सम्पन्न साधारण सभाले कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँको (५,००,००० कित्ता सेयर) पारित गर्दै, त्यसको २० प्रतिशत (१० लाख कित्ता) साधारण सेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय गरेको छ । उक्त निष्कासन प्रक्रियालाई व्यवस्थापन तथा अघि बढाउने जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडलाई प्रदान गरिएको छ ।
हिमालयन इनर्जीले कालिञ्चोक आयोजना बाहेकका सम्भावित ऊर्जा आयोजना तथा पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दीर्घकालीन रणनीति लिएको छ । कम्पनीले ऊर्जा उत्पादन र लगानी क्षेत्रको दिगो विस्तारमा सक्रिय र रणनीतिक भूमिका खेल्दै राष्ट्रिय ऊर्जा विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ । यस कम्पनीले परियोजनालाई समयमै सम्पन्न गरी राष्ट्रिय विद्युत् प्रणालीमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।