काठमाडौं । सत्ता र शक्तिको उन्मादमा मानिस कसरी अन्धो हुन्छ र सम्पूर्ण साधन स्रोत तथा कानुनी परामर्शका सुविधा हुँदाहुँदै पनि गलत काम गर्नु पुग्छ भन्ने एउटा उदाहरण बन्न पुगेको छ– नक्कली भुटानी शरणार्थी प्रकरण ।यसमा घुस लिएको काण्डमा मुछिएका राजेश बज्राचार्यको प्रसङ्ग जोडिन्छ । उनी तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव हुन । उनले नक्कली भुुटानी शरणार्थी प्रकरणमा अरुजस्तै विचौलियासँग एक करोड रुपैयाँ घुस लिएको प्रसङ्ग त्यससम्बन्धी छानबिन प्रतिवेदनमा नै उल्लिखित छ । तर उनको संलग्नता त्यतिमा मात्रै सीमित रहेको छैन । भारत हुँदै भुटानी शरणार्थी नेपाल छिरेका थिए र उनीहरूलाई झापामा शरणार्थी क्याम्प बनाएर राखिएको थियो । ती भुटानी शरणार्थीलाई अमेरिकालगायत तेस्रो मुलुकमा स्थान्तरण गरिएको थियो ।
तर त्यसरी स्थानान्तरण छुटेका वा बाँकी रहेका भुटानी शरणार्थीलाई अमेरिकालगायत तेस्रो मुलुकमा स्थानान्तरण गर्ने क्रममा पछिल्लो पटक नेपाल सरकारको गृह मन्त्रालयकै संलग्नतामा चिनियाँ र मुस्लिम आतङ्कवादीहरूलाई पनि भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काम भयो र विचौलियाहरूले सत्ताधारी तथा सत्ताको शिखरवरिपरि रहेका शक्तिकेन्द्रका व्यक्तिहरूलाई छानीछानी घुस दिएर नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउने काम गरेका थिए । नक्कली भुटानी शरणार्थीलाई तयरी अमेरिका पठाइएको घटनाको नेपाल प्रहरीकै केही अधिकृतले प्रतिवेदन बनाएर अमेरिकी पक्षलाई बुझाएपछि अमेरिकी पक्षले नेपाल सरकारलाई उक्त काण्डको छानवीन र कारबाही गर्न दवाव दिएपछि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकराज पाण्डेसहितका व्यक्ति पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये केही व्यक्ति धरौटीमा छुटे पनि अरुचाहिँ अझै पनि जेलमै रहेका छन् । तर पहिलो चरणको अनुसन्धानमा सत्ता र शक्तिमा रहेको व्यक्तिहरूचाहिँ कारबाहीको क्रममा जानीजानी छुटाइएको थियो ।
त्यसरी कारबाहीमा छुटाइएका व्यक्तिमाथि अहिलेको बदलिएको परिस्थितिमा दोेस्रो चरणको कारबाही सुरु भएको छ र तीमध्येका एक हुन्, राजेश बज्राचार्य । बज्राचार्यलाई रकम दिएर बिचौलियाले केपी ओलीलाई आफ्नो पक्षमा लिएको थियो । बज्राचार्यले एक चरण नगर्दै घुस लिएको छानबिन आयोगको प्रतिवेदनमै उल्लेख गरिएको छ । तर एक पटकचाहिँ उनले सत्ता शक्तिको उन्मादमा बैंकिङ च्यानलमार्फत आफ्नो खातामा ५० लाख रुपैयाँ घुस ट्रान्सफर गर्न लगाएको र उक्त रकम निकालेर खर्च गरेको प्रहरी अनुसन्धनले नै देखाएको सम्बन्ध स्रोतको दावी छ । बज्राचार्यको आफूसँग एक करोड ५० लाख रुपैयाँ लिएको भनी नक्कली भुटानी शरणार्थी काण्डका मुख्य नाइके केशव दुलालले प्रहरीलाई बयान दिएका छन् ।
उक्त रकममध्ये ५० लाख रुपैयाँ बज्राचार्यको खातामा ट्रान्सफर भएको पाइएपछि सीआईवीले बज्राचार्यलाई कडा निगरानीमा राखेर अनुसन्धान गरिरहेको थाहा भएको छ । हरदम पूर्वप्रधानमन्त्री केपी ओलीको साथ रहने बज्राचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निकै मुस्किल परिरहेको बुझिएको छ ।