काठमाडौं । बैंकिङ क्षेत्रमा कुल सम्पत्ति दायित्व बढेको छ । आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदनअनुसार सञ्चालनमा रहेका १७ विकास बैंकको कुल सम्पत्ति/दायित्व पाँच दशमलव एक प्रतिशत अर्थात् ३६ अर्ब २६ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा सात खर्ब ५३ अर्ब ५५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति/दायित्व सात दशमलव नौ प्रतिशत अर्थात् ५२ अर्ब २९ करोड रुपैयाँले बढेको थियो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२को साधन परिचालनको प्रमुख स्रोतको रूपमा रहेको कुल निक्षेप समीक्षा वर्षमा तीन दशमलव पाँच प्रतिशत अर्थात् २१ अर्ब सात करोड रुपैयाँले बढेर छ खर्ब २९ अर्ब ३२ करोड पुगेको छ । २०८२ असार मसान्तमा विकास बैंकहरूको तरल सम्पत्ति (सरकारी ऋणपत्रमा गरिएको लगानीसहित) एक खर्ब २४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तो सम्पत्ति कुल निक्षेपको १९ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ ।
अघिल्लो वर्ष उक्त अनुपात २० दशमलव दुई प्रतिशत रहेको थियो । समीक्षा वर्षमा, तरल सम्पत्तिमध्ये तरल कोष नौ दशमलव नौ प्रतिशतले बढेर ३३ अर्ब ६० करोड पुगेकोे छ । राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा विकास बैंकहरूको कर्जा तथा लगानी तीन दशमलव पाँच प्रतिशत अर्थात् २२ अर्ब ४५ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा छ खर्ब ५९ अर्ब ९३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा तथा लगानी तीन दशमलव सात प्रतिशत अर्थात् २२ अर्ब ९६ करोड रुपैयाँले बढेकोे थियो । कर्जा तथा लगानीका अंशहरूमध्ये निजी क्षेत्रतर्पm प्रवाहित कर्जा भने छ दशमलव एक प्रतिशतले बढेर २०८२ असार मसान्तमा पाँच खर्ब ११ अर्ब ४३ करोड भएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको आठ दशमलव चार प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । २०८२ असार मसान्तमा विकास बैंकहरूबाट कृषि, लघु, घरेलु, तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २५ दशमलव ६७ प्रतिशत अर्थात एक खर्ब ३२ अर्ब २२ करोड रुपैयाँ लगानीमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुको कुल सम्पत्ति/दायित्व भने तीन दशमलव चार प्रतिशत अर्थात् पाँच अर्ब ८१ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति/दायित्व ११ दशमलव दुई प्रतिशतले बढेर एक खर्ब ६९ अर्ब ७२ करोड पुगेकोे थियो । निक्षेप परिचालन भने दुई दशमलव नौ प्रतिशत अर्थात तीन अर्ब ७२ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा एक खर्ब ३० अर्ब २६ करोड भएको छ । अघिल्लो वर्ष यस्तो निक्षेप परिचालन १३ दशमलव आठ प्रतिशतले बढेको थियो । २०८२ असार मसान्तमा वित्त कम्पनीहरूको तरल सम्पत्ति (सरकारी ऋणपत्रमा गरिएको लगानीसहित) २५ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । यस्तो सम्पत्ति कुल निक्षेपको १९ दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष उक्त अनुपात २३ दशमलव तीन प्रतिशत रहेको थियो ।
प्रतिवेदनअनुसार तरल सम्पत्तिमध्ये तरल कोष नौ दशमलव दुई प्रतिशतले बढेर २०८२ असार मसान्तमा सात अर्ब ६८ करोड कायम भएको छ । समीक्षा वर्षमा वित्त कम्पनीहरूको कर्जा तथा लगानी शून्य दशमलव एक प्रतिशत अर्थात ३१ करोड रुपैयाँले बढेर २०८२ असार मसान्तमा एक खर्ब ४७ अर्ब ९५ करोड कायम भएको छ । अघिल्लो वर्ष यी कम्पनीहरूको कर्जा तथा लगानी छ दशमलव आठ प्रतिशतले बढेको थियो । कर्जा तथा लगानीका अंशहरूमध्ये निजी क्षेत्रतर्फ प्रवाहित कर्जा आठ दशमलव चार प्रतिशतले बढेर २०८२ असार मसान्तमा एक खर्ब चार अर्ब आठ करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको एक दशमलव सात प्रतिशत हुन आउने प्रतिवेदनमा उल्लेख छ । २०८२ असार मसान्तमा फाइनान्स कम्पनीहरूबाट कृषि, लघु, घरेलु, तथा साना उद्यम/व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको १९ दशमलव पाँच प्रतिश अर्थात् १९ अर्ब ७४ करोड रुपैयाँ लगानीमा रहेको छ ।
राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरूको कुल सम्पत्ति÷दायित्व भने नौ दशमलव सात प्रतिशतले बढेर २०८२ असार मसान्तमा छ खर्ब सात अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, यी संस्थाहरूको कुल निक्षेप र सापटी क्रमशः एक खर्ब ९९ अर्ब ७६ करोड र दुई खर्ब ३९ अर्ब ५० करोड पुगेको छ भने कुल कर्जा र लगानी क्रमशः चार खर्ब ९१ अर्ब ८० करोड र १० अर्ब ५४ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।