काठमाडौं । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेको लागी घोषणा गरेको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन भाग लिने निर्णय गरेको हो । निर्वाचन नै वर्तमान संकटको लोकतान्त्रिक निकास भएकोले निर्वाचनमा सहभागी हुने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेसले अन्तरिम सरकारले गरेको संसद विघटनप्रति पुनः असहमति व्यक्त गर्दै यस विषयको अन्तिम व्याख्या सर्वोच्च अदालतले नै गर्ने स्पष्ट जनाएको छ । कांग्रेसले यसअघि संसद विघटनलाई असंवैधानिक भनैको थियो । ‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ । निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेन–जेड प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ’ । कांग्रेसले भनेको छ, ‘अहिले अन्तरिम सरकार गठन तथा प्रतिनिधिसभा विघटन र निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा यो विषय राजनीतिक मात्र नभइ संवैधानिक पनि भएको र सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेकोले सर्वोच्च अदालतबाट अन्तिम व्याख्या हुनेछ भन्ने नेपाली कांग्रेस विश्वास गर्दछ ।’
कांग्रेसले निर्वाचनको लागी उचित वातावरण बनाउन समेत सरकारसँग माग गरेको छ । जेन–जी आन्दोलनका क्रममा प्रहरीका लुटिएका हातहतियार फिर्ता नहुनु, जेलबाट कैदी फरार हुनु, दलगत गतिविधिमा रोकथाम हुनुजस्ता अवस्थाले निर्वाचनको भयरहित वातावरण नबनेको प्रवक्ता महतले बताए । शान्ति–सुरक्षाको तुरुन्त सुधार गर्न कांग्रेसले माग गरेको छ । हाल बढ्दै गएको अराजकता र उत्तेजक गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेसले हिंसा भड्काउने, घृणा फैलाउने, विचार अभिव्यक्तिमा बन्देज लगाउने र ‘निषेधको राजनीति’ गर्ने जस्ता कार्यहरूलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ । कांग्रेसले सबै पक्षलाई संयम, संवाद र विश्वासको बाटो समाउन आग्रह गरेको छ ।
जेन–जी आन्दोलनले उठाएको रूपान्तरणको माग सम्बोधन गर्न कांग्रेसले विघटित प्रतिनिधि सभाका राजनितिक दल, जेन–जी पुस्ता र आन्दोलनपछि उदाएका नयाँ दल, नागरिक समाज, बुद्धिजीवी व्यवसायीसहित बहुपक्षीय राष्ट्रिय संवाद सुरु गर्न आह्वान गरेको छ । पार्टी यसका लागि कांग्रेसले आवश्यक पहल गर्ने भएको छ । देश गम्भीर राजनीतिक संकटमा रहेको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय स्वाधीनता, मौलिक हक–अधिकार र संविधानको संरक्षण जस्ता मुद्दामा सबैलाई संयमता, संवाद र समझदारीको मार्ग अपनाउन अपील गरेको छ ।
बैठकले भदौ २३ गते भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा १९ युवाको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । भदौ २४ मा देशभर देखिएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीले ५७ जनाको ज्यान गएको, सरकारी तथा निजी सम्पत्तिमा व्यापक क्षति पुगेको र देशमा राज्यविहीन अवस्था सिर्जना भएको ठहर गर्दै कांग्रेसले घटनालाई पूर्ण रूपमा अराजनीतिक, आपराधिक र विध्वंसकारी भएको टिप्पणी गरेको छ । राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि ४८ जिल्लाका पार्टी कार्यालय, विभिन्न नेताका निजी निवास, व्यवसायिक प्रतिष्ठानमा भएका आगजनी–तोडफोड घटनाको कडा शब्दमा भत्सर्ना गरिएको छ ।
कांग्रेसले घटनाको सत्य–तथ्य छानबिन गरि दोषीमाथि कानुनी कारबाही, पीडितलाई क्षतिपूर्ति, लुटिएका हातहतियार फिर्ता, भागेका कैदी पुनः नियन्त्रणमा ल्याउने, ध्वस्त सरकारी संरचनाको तात्कालिक पुनर्निर्माण जस्ता माग सरकारसँग राखेको छ । बैठकले जेन–जी पुस्ताले उठाएका भ्रष्टाचारको अन्त्य, सुशासन, पारदर्शिता, सूचना–अधिकार जस्ता मुद्दालाई पूरा गर्न कांग्रेस प्रतिबद्ध रहेको जनाएको छ ।