काठमाडौं । एसियन होटल लिमिटेडले प्रारम्भिक सार्वजानिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
सञ्चालक समितिका अध्यक्ष पारस अधिकारी अध्यक्षतामा भएको सभाले एक सय रुपैयाँ अंकित दरका ४२ लाख कित्ता साधारण सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरू पनि पारित गरेको छ । सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुुँजी संशोधन गर्दै पुँजी संरचनामा पुनर्संरचना गर्ने तथा संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना समेत पुनर्सन्तुलन गर्ने निर्णय पनि गरेको छ । एसियन होटल लिमिटेड भैरहवा, लुम्बिनी प्रदेशमा अवस्थित चार–तारा स्तरको लक्जरी होटल हो ।
होटलमा ६६ वटा एलीट किंग, क्लासिक प्रिमियम, सुइट जस्ता आधुनिक र आरामदायक कोठा, स्वीमिङ पुल, स्पा र २४–घण्टा स्वास्थ्य क्लब सुविधा उपलब्ध छन् । विवाह, सम्मेलन वा सामाजिक समारोहहरूको लागि बैंक्वेट हल, सम्मेलन हल र पार्टी प्यालेसबाट कम्पनीले उच्च स्तरीय इभेन्ट व्यवसाय गर्दै आएको छ । होटलमा क्यासिनो, तीन प्रकारका बार, फ्री वाईफाई, मिनीबार, लक्स बाथटब÷जाकुजि, कार पार्किङ, खुला गार्डेन र मनोरञ्जनात्मक गतिविधिहरू जस्तै क्याम्पफायर र गेम स्क्रीन पनि उपलब्ध छन् । अध्यक्ष पारस अधिकारीले कम्पनीले छोटो अवधिमै उल्लेखनीय प्रगति गरेको र होटललाई नेपालको अग्रणी पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने बताए । कम्पनीले आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्ति गरिसकेको छ ।