मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आइतबार रिहा गर्न आदेश दिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार अदालतले प्रस्तुत प्रतिवेदन,सम्बन्धित कागजात तथा दुवै पक्षका बहस सुनेपछि प्रसाईँलाई थुनामा राखिराख्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकालेको हो। अदालतको आदेशसँगै दुर्गा प्रसाईँलाई आइतबार बेलुका नै थुनाबाट रिहा गरिएको छ। उनी केही दिनअघि अराजक गतिविधिलाई प्रोत्साहन दिने अभिव्यक्ति र गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए।