काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको तत्काल राजीनामा माग गरेको छ। भ्रष्टाचार, पक्षपात र कुशासन बढ्दै गएको आरोप लगाउँदै मुभमेन्टले सोमबार (मंसिर ८) विज्ञप्ति जारी गर्दै सरकारप्रतिको जनविश्वास समाप्त भइसकेको दाबी गरेको हो। मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकार कानुनी वैधता र राजनीतिक नैतिकताबाट विमुख भएको आरोप लगाइएको छ। शाहका अनुसार, “सरकारले सुशासन कायम गर्ने प्रतिबद्धतामा पूर्ण असफल भइसकेको छ, त्यसैले नैतिक रूपमा प्रधानमन्त्रीले अब राजीनामा दिनुपर्छ।” संस्थाले देशमा बढ्दो अव्यवस्था, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र राज्य संयन्त्रमा देखिएको दुरुपयोगप्रति चिन्ता व्यक्त गरेको छ। आगामी दिनमा सरकार सुधारतर्फ नलागे कडा आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत मुभमेन्टले दिएको छ।