काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा विकास खर्च कम देखिनुको मुख्य कारण सरकारी बजेट रोक्का भएको बताएका छन् ।
मन्त्री घिसिङले तीन मन्त्रालयअन्तर्गत मात्र रु. एक खर्ब ९५ अर्ब बराबरको बजेट रोक्का हुँदा अधिकांश काम प्रभावित भएको स्पष्ट पारे । उनले सहरी विकास मन्त्रालयमा मात्र करिब ६१ अर्ब बजेट रोक्का भएको उल्लेख गर्दै प्रगति कम देखिएको बताए । बजेट रोक्कापछिको दोस्रो ठूला अवरोध जेनजी आन्दोलन र विभिन्न परियोजनास्थलमा काम बन्द हुनु रहेको मन्त्री घिसिङले बताए ।
पुनर्निर्माणका संरचनाको डिजाइन तथा निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको जानकारी दिदै उनले कामै नगर्ने निर्माण व्यवसायीलाई कडाइका साथ कारबाही थालिएको जानकारी दिए । दुई सय ६९ परियोजना ठेक्का तोड्ने प्रक्रियामा अहिलेसम्म ४९ ठेक्का आधिकारिक रूपमा भङ्ग गरिएको उनले समितिलाई जानकारी दिए । केही योजना जथाभावी राखिएको स्वीकार गर्दै मन्त्री घिसिङले त्यस्ता बजेट कटौती गर्न आफू सहमत रहेको बताए ।