काठमाडौं । शेयर बजार परिसुचक नेप्से २६ सय बिन्दुबाट पनि उकालो लागेको छ । अघिल्लो दिन ३९ दशमलव ९२ अंकले उकालो लागेको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार ४७ दशमलव २२ अंकले उकालो लागेर २६ सय ४७ दशमलव ४४ बिन्दुमा चढेको हो ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८४ अंकले उकालो लागेर चार सय ५६ दशमलव १३ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको ७९ हजार सात सय १४ पटकको कारोबारमा एक करोड ४२ लाख चार हजार तीन सय ६२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम सात अर्ब तीन करोड ५४ लाख ८० हजार एक सय ३६ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका सबै उपसमुहहरुको सुचक उकालो लाग्दा शेयर बजार पुरै हरियो भएको छ ।