वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा वीरगञ्ज नाका हुँदै दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु. ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भएको थियो ।
गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै १८ प्रतिशत वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । “गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयातमा मात्रै नभएर राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ,” उनले भने ।
गत आवको चार महिनामा कार्यालयले ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन गरेको थियो । तर, चालु आवको चार महिनामा भने ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज नाका हुँदै चार महिनामा ५४ अर्ब १२ करोड मूल्य पर्ने पाँच थरीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
त्यस्तै, सोही अवधिमा २५ अर्ब ५२ करोडको फलाम तथा फलामबाट बनेको सामान आयात भएको छ । १९ अर्ब ५४ करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा भित्रिएका छन् । चार महिनामा १८ अर्ब ३१ करोडको भटमासको कच्चा तेल, १६ अर्ब चार करोडको इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा तथा १५ अर्ब ४३ करोडको मलखाद वीरगञ्ज नाका हुँदै आयात भएको छ ।