काठमाडौं ।सरकारी स्वामित्वका दुई बैंक र नेपाल खानेपानी संस्थानमा नेकपा एमालेका विभागीय नेताहरूकै रजगज चल्दै आएको छ । त्यसरी रजगज चलाउँदै आएका एमालेका नेतामध्येका एक हुन्– सरकारी स्वामित्वको कृषि विकास बैंकका अध्यक्ष डिमप्रकाश पौडेल । स्याङ्जा स्थायी घर भएका पौडेल यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्त भएका थिए । एमाले स्वार्थमा निगमलाई दुरुपयोग गरेपछि कर्मचारीले कार्यालयभित्र छिर्न दिएका थिएनन् र बाध्य भएर त्यह(ाँबाट राजीनामा दिएर बाहिरिएका थिए । उनै पौडेललाई यसअघिका अर्थमन्त्री विष्णु पौडेलले कृषि विकास बैंकको अध्यक्ष नियुक्त गरेका छन् । उनी नेकपा एमालेका २३ वटा जनवर्गीय संगठनमध्येको एक नेपाल उद्योग तथा व्यवसायी महासंघको उपमहासचिव हुन् । उनी ८८ नम्बरको ब्रोकर कम्पनी ब्लुचिपका अध्यक्ष पनि हुन् । निगममा महाप्रबन्धक हुँदा उनी महासंघको कोषाध्यक्ष थिए । त्यस्तै एमालेका अर्का लेवीवाल नेता डा. दिल्लीराज शर्मा अर्को सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त भएर कार्य गरिरहेका छन् । शर्मा त्रिभुवन विश्वविद्यालयको पूर्वडीन पनि हुन् । एमालेको लेवीवाला नेता शर्मा एमाले समर्थित प्रगतिशील प्राध्यापक संघको पूर्वअध्यक्ष पनि हुन् । यसअघिको सरकारले एमालेका अर्का नेता ढुण्डीराज भट्टराईलाई नेपाल खानेपानी संस्थानको अध्यक्ष नियुक्त गरेको छ । भट्टराई नेकपा एमालेको खानेपानी तथा सरसफाइ विभागका सचिव हुन् । एमालेको उक्त विभागका सचिव भट्टराई ललितपुरमा रहेको पाटन माध्यमिक विद्यालयका स्थायी शिक्षक पनि हुन । त्यस्तै मनपरी नियुक्तिले युवा वर्गमा विद्रोहको भावना बढाउँदै लगेर यो अवस्था आएको ठानिएको छ ।