काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलड्ढाका राजदूत रुवान्थी डेल्पितीयाबीच दुई देशको व्यापार सहजीकरण एवं हवाईसेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलड्ढा बीच कुटनीतिक सम्बन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध ऐतिहासिक रहेको पृष्ठभूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुवै देशले लाभ लिन सक्नुपर्ने विषयमा छलफल भएको हो ।
राजदूत डेल्पितीयासँग चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल श्रीलड्ढा बीचको व्यापारको आकार वार्षिक औषतमा मुस्किलले दुई दशमलव पाँच मिलियन अमेरिकी डलर मात्रै रहेको र नेपालको निर्यात निकै कम रहेको बताए । नेपालले एक दशमलव ४० मिलियन अमेरिकी डलर बराबरको बस्तु आयात गर्दा शून्य दशमलव ७० मिलियन डलरको मात्रै निर्यात गरिरहेको उनको भनाइ छ । दुवै देशका चेम्बर प्रतिनिधिहरू बीच दुई पक्षीय भेटवार्ता, हवाई सेवा विस्तार गरेर पर्यटक आवागमनमा वृद्धि, कृृषि तथा जलविद्युत्, सूचना प्रविधि तथा डिजिटल व्यापार, भौतिक पूर्वाधार तथा निर्माण जस्ता क्षेत्रमा दुईपक्षीय लगानी एवं व्यापार सहजीकरण गर्नेबारे राजदूत समक्ष चेम्बरले प्रस्ताव गरेको थियो । चेम्बरले सातामा कम्तिमा एउटा उडान श्रीलड्ढा–लुम्बिनी एवं लुम्बिनी श्रीलङका सीधा हवाई सेवा संचालन गरेर पर्यटकहरू आर्कषित गर्न सकिने धारणा राखेको छ । यसबाट श्रीलड्ढाका बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा आर्कषित गर्न सकिने अध्यक्ष अग्रवालले बताए ।
यस्तै श्रीलड्ढा भ्रमणका लागि जाने नेपाली पर्यटकहरूलाई फ्रि भिसाको व्यवस्था गर्न समेत चेम्बरले आग्रह गरेको छ । चेम्बर पदाधिकारीहरूसँगको भेटवार्ताका क्रममा राजदूत डेल्पितीयाले नेपालसँग व्यापार अभिवृद्धिबारे सम्भावनाका विभिन्न विकल्प तथा व्यापार सहजीकरणका लागि आफूले पहल गरिरहेको बताए । श्रीलड्ढामा आगामी जुनमा हुने अन्तराष्ट्रिय व्यापार मेलामा सहभागिता जनाउन चेम्बर पदाधिकारी समक्ष उनले आग्रह गरे ।