काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले जेन–जी पुस्ताका युवाहरूलाई रोजगारमूलक सूचना प्रविधिसम्बन्धी सीप सिकाइ रहेको छ । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा विशेषज्ञ कम्पनी जेनेस सलुशनसँगको सहकार्यमा नगरपालिकाले सञ्चालन गरेको १० दिने डिजिटल साक्षरता प्रशिक्षण सम्पन्न भएको हो ।
१० दिने तालिममा डिजिटल मार्केटिङ, साइबर सेक्युरिटी, क्लाउड र आइटीका पछिल्लो ट्रेन्ड बारे प्रशिक्षण दिनुका साथै प्रयोगात्मक अभ्यास पनि गराइएको थियो । नगरपालिकाका मेयर उपेन्द्र कार्कीले यो नगरपालिकालाई देशकै आईटी हब बनाउने उद्देश्य लिएर जेनेस सलुसनसँगको सहकार्यमा इनोभेसन सेन्टर सुरु गरेको बताए । उनले नगरपालिका जेन–जी पुस्ताको लागि अवसर सिर्जना गर्न लागि परेको पनि बताउँदै आइटी तालिम लिएका युवाहरूले राम्रो रोजगार पाएको बताए । केही ‘सेल्फ इम्प्लोइड’ भएर काम गरिरहेको उनले जानकारी दिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले १० दिनको तालिमले सहभागीहरूलाई नयाँ सीप सिक्ने र आफ्नो आगामी करियर के हुने भन्ने निधो गर्न सहयोग पुग्ने बताए । हाल विदेशमा बनेका सफ्टवेयरहरू नेपालमा प्रयोग भइरहेको भन्दै अब मुलुकलाई चाहिने सफ्टवेयर नेपालमै उत्पादन गर्नसक्ने जनशक्ति तयार गर्नुपर्ने बताए । नगरपालिकाको शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले आईटीको सीप भएका युवाहरूले धेरै अवसर पाउन सक्ने बताए । युवाहरूलाई सूचना प्रविधिसम्बन्धी सीप सिकाइ रोजगार प्राप्त गर्न सघाउने उद्देश्यले आयोजित तालिममा ४० जना युवाहरू सहभागी भएका थिए । जेनेस सलुशनका कैलाश बडू, सम्पन्न श्रेष्ठ, विश्रान्त कटवाल, वरिष्ठ अधिकृत आस्था जोशी, सुजु श्रेष्ठ, वरदान खड्का क्षेत्री, निर्मल बस्ताकोटी, कृतिका कपाली, सन्तोष ताम्राकारले प्रशिक्षण सञ्चालन गरेका थिए ।
यसैगरी नेपाल प्रहरीको साइबर ब्युरोका वरिष्ठ सब इन्स्पेक्टर जीत बहादुर बुढाले साइबर सेक्युरिटी र साइबर कानुनका बारेमा प्रस्तुति दिएका थिए । त्यस्तै सेल–पेका निमेश अधिकारी, जब स्नाइपर प्रालिका सह संस्थापक ई. उज्ज्वल कोइरालाले पनि प्रशिक्षण दिएका थिए भने दीपकराज सिलवालले सहजीकरण गरेका थिए । यसै वर्ष जेनेस सलुसन र कागेश्वरी मनोहरा नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । हालसम्म करिब ७० जना स्थानीय युवाहरू विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन् ।
जेनेस सलुशनका अफिसहरू नेपाल, बङ्गलादेश, नाइजेरिया, फिनल्यान्डसहित १० भन्दा बढी देशहरूमा रहेका छन् । कम्पनीले विश्वभरका सरकारी, शैक्षिक तथा निजी क्षेत्रका संस्थाहरूसँग मिलेर क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षाको क्षेत्रमा सेवा पुर्याउँदै आएको छ ।