कञ्चनपुर । महाकाली नदीमा जिल्लाको भीमदत्त नगरपालिका–१२ ओदालीका एक युवक पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । महाकाली नदीमा मङ्गलबार दिउँसो २१ वर्षीय रोशन दमाई साथीसँग पौडी खेल्न गएका बेला बेपत्ता भएका हुन् ।
वडा नम्बर १२ कार्यवाहक वडा अध्यक्ष नरबहादुर साउँदले रोजगारीका लागि बाह्य मुलुक जाने तयारीमा रहेका दल दमाइका तीन छोरामध्ये कान्छा छोरा रोशन मङ्गलबार दिउँसो खानाखाएर साथीहरुसँग नदीमा पौडी खेल्न गएका बेला बेपत्ता भएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेपत्ता युवकको खोजी कार्य भइरहेको बताए । दमाईसँगै पौडी खेल्न गएका उनका साथी भने सकुशल रहेको बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खोजी कार्यका लागी खटिएका छन् । प्रनाउ बोहराले बेपत्ता स्थलको ५ सय मिटर वरीवरी खोजी गरिए पनि टोलीले भेट्टाउन नसकेको बताए । पानीको बहाव अत्यधिक हुने महाकाली नदी क्षेत्रमा पौडी खेल्न नजान समेत प्रहरीले आग्रह गरेको छ ।