काठमाडौं । प्रहरीले राजधानीको ठमेल क्षेत्रलाई लक्षित गरी स्वदेशी तथा विदेशी पर्यटकलाई दुख दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराउनेलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा १३ जनालाई पक्राय गरेको हो । व्यक्तिहरूले अनुगमनमा खटिएका सदस्यमाथि नै हातपात, गालीगलौज र अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अभद्र व्यवहार सम्बन्धी कसुरमा काठमाडौंबाट चार दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय बादल तामाङ, बाजुराका २२ वर्षीय गणेश नाथ, तनहुँका २४ वर्षीय विशाल थापामगर, सिन्धुलीका २० वर्षीय गणेश तामाङ, सर्लाहीका १९ वर्षीय सागर मगर, सुनसरीका २२ वर्षीय रमेश क्षेत्री, दोलखाका १९ वर्षीय विशाल नेपाली, रामेछापका २१ वर्षीय मिलन नेपाली, बाँकेका २३ वर्षीय अभिषेक थापा, काभ्रेका २२ वर्षीय सञ्जय लामा, दाङकी २० वर्षीया प्रतिमा डाँगी र दाङकै २१ वर्षीया प्रमिला पुनमगर छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले स्वदेशी तथा विदेशी पर्यटकलाई दुःख दिने तथा लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेकाहरूले पर्यटकलाई अनावश्यक दबाब, आर्थिक ठगी तथा आपराधिक गतिविधिमा फसाउने प्रयास गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।