काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयलाई झनै छरितो बनाएकी छिन् । कुल ६६ जनाको दरबन्दी कायम रहे पनि यसअघि नै सचिवालयमा २० जना मात्र थिए ।
पछिल्लो समय सचिवालयमा आफन्त नियुक्त भएको भन्दै सार्वजनिकरूपमा तीव्र विरोध भएपछि प्रधानमन्त्री कार्कीले अझै घटाएकी हुन् । योसँगै सचिवालयमा मुख्य सल्लाहकार एक, जनसम्पर्क सल्लाहकार एक, प्रमुख स्वकीय सचिव एक, प्रेस संयोजक एक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) एक र जनस्वास्थ्य विज्ञ (अवैतनिक) एक गरी छ जना मात्र कायम भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार यसअघि नै छरितो सचिवालय रहे पनि सार्वजनिकरूपमा सवाल उठाइएकाले प्रधानमन्त्रीले सचिवालय तथा विज्ञ समूहलाई अझै छरितो बनाएकी हुन् । उनका अनुसार बाँकी सबै पदको नियुक्ति बिहीबारदेखि नै लागू हुनेगरी प्रधानमन्त्री कार्कीले खारेज गरेकी छिन् ।
यसअघिका सरकारका पालामा भने सचिवालय र विज्ञ समूहका नाममा भरिभराउ हुनेगरेका थिए । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ (११औँ संशोधन २०८१) बमोजिम ६६ जना नियुक्त गर्न पाउने व्यवस्था छ ।