काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा नेपाल प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बिहीबार सार्वजनिक गरेको हो ।
नुवाकोट घर भई तारकेश्वर बस्ने २० वर्षीय बिशाल राई, नुवाकोटको १८ वर्षीय साजन तामाङ र नुवाकोटकै १९ वर्षीय समिर तामाङका साथै स्याङ्जा घर भई तारकेश्वर बस्ने २७ वर्षीय ईश्वर बुढाथोकी पक्राउ परेका छन् । उनीहरुले गत मङ्सिर ८ गते मोटरसाइकलबाट आएर महिलालाई लुटपाट गरी फरार रहेको आरोप छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले साँझको समयमा हिँडेर घर फर्किने क्रममा महिलाको साथमा रहेको नगद, सुन, बैङ्कका चाबी, मोबाइल सेट र महत्त्वपूर्ण कागजातसहितको झोला लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकासँग मोबाइल, चाँबीको झुप्पो लगायतका सामानसहित १२ दशमलव ६३० ग्राम सुनको झुम्का, ७ दशमलव ८ लालको सुनको टप, दुई हजार ५०० नगद बरामद गरेको छ । जिल्ला अदालत काठमाडौँबाट पक्राउ परेका चारैजनालाई पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।