काठमाडौं । सेयरबजारमा लगातार सुधार देखिएको छ । यो साता गत सोमबारयता लगातार बजार बढेको हो । बिहीबार पनि नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार वाणिज्य बैंक, विकास बैंक, होटल र पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, सामूहिक लगानी कोष र निर्जीवन बीमा सूचक बढ्दा बाँकी घटेका हुन् । यस दिन वाणिज्य बैंक सूचक सर्वाधिक २०.३० अंकले बढेको छ ।
कुल छ अर्ब ६६ करोडको सेयर किनबेच भएको हो । बिहीबारको वृद्धिसँगै नेप्सेले चार दिनदेखिको वृद्धिको लय समातेको छ । यसअघि सोमबार ५० अंकले बढेको बजारमा सात अर्बको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अंकले बढेको दिन पाँच अर्ब ८२ करोडको र बुधबार साढे ९ अंकको वृद्धिसँगै छ अर्ब ६९ करोडको सेयर किनबेच भएको थियो ।
बिहीबारको कारोबारमा १३१ वटा सेयरको मूल्य बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस दिन एक सय २१ वटाको घटेको छ भने छवटाको अघिल्लो मूल्यमै कारोबार भएको छ । बढ्नेमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर छन् । यी सेयर सर्किट तहमा बढेका छन् ।
त्यसैगरी हिमस्टार ऊर्जा कम्पनी, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, महुली लघुवित्त, जोशी हाइड्रोपावर, नेपाल एसबीआई डिबेन्चर भने घटेका छन् । यी सेयर ३.०२ प्रतिशतदेखि ७.७८ प्रतिशतसम्मले घटेको नेप्सेले जनाएको छ । कारोबारमा भने एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४० करोडको किनबेच हुँदा ङादी ग्रुप पावरको १६, हिमालयन रिइन्स्योरेन्सको १५, सीईडीबी होल्डिंग्स १५ र युनाइटेड मोदी हाइड्रोको १४ करोडको किनबेच भएको छ ।