काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरूसहित दुई जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३२ वर्षीय सुनिल शंकर र ३१ वर्षीया बिनिता गजमेर रहेका छन् ।
एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा सुनिलको लगेजबाट सुनजस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम चार सय मिलिग्राम, चाँदीजस्तो देखिने धातुका गरगहना करिब एक किलो तीन सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम तथा बिनिताको लगेजबाट सुनजस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम सात सय ५ मिलिग्राम फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।