काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआईबी कार्यक्रमका प्रमुख रतिस बस्न्यात बीच हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ) ले एनआईबी–जीए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआईबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउन्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रूपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ । नबिल बैंकका सीईओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरूको मनोबल बढाउन सहयोग पुग्ने बताए । ‘यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ’, उनले भने, ‘परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।’
एनआईबी–जीए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रूपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । ‘यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अवलम्बन गर्न सक्छ’, उनले भने ।
साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रूपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआईबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सिर्जनामा केन्द्रित रहेको बैंकको भनाइ छ । एनआईबी–जीए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेसनल डेभेलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डीएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको दुई सय ६८ वटा शाखा र तीन सय २१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।