काठमाडौं । नेपाल वायुसेवा निगमका दुई पाइलटले अनिश्चितकालका लागि जहाज उडाउन नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटको ‘रोस्टर अफ’ गरेको हो ।
जहाज उडाएको बेला भिडिओ र फोटो खिच्नेजस्ता गतिविधि गरेपछि क्याप्टेनद्वय विजय लामा र सोनी राणा कारबाहीमा परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अर्को सूचना नभएसम्म उनीहरूलाई विमान उडाउन रोक लगाइएको छ ।
उडान सञ्चालन सुरक्षा नियमविपरीत उनीहरूको गतिविधि देखिएपछि दुवै पाइलट कारबाहीमा परेका हुन् । उनीहरूले कारबाही फुकुवा नभएसम्म विमान उडाउन पाउनेछैनन् । प्राधिकरणका उपनिर्देशक ज्ञानेन्द्र भुलले उनीहरूमाथि छानबिनका लागि निगमलाई चिठी पठाएको जानकारी दिए ।
उनका अनुसार यो विषयमा अब वायुसेवा निगमले आन्तरिक छानबिन गर्नेछ । उडान समयमा ककपिटबाट फोटोग्राफी, भिडियोग्राफी गरेको उजुरी आएपछि दु्वैलाई कारबाही गरेको उनको भनाइ छ । ‘त्यसपछि हामीले कदम चालेको हो । अनुसन्धान र प्रतिवेदन पठाउने काम निगमको हो’, उनले भने । यो प्रक्रिया लम्बिएमा तीन महिना वा ६ महिनाका लागि उनीहरू विमान उडाउनबाट वञ्चित हुन सक्नेछन् । यस्तोमा उडाउन नदिनु भनेकै बेला उडाएमा अझ ठूलो कारबाहीमा पर्नेछन् ।