दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको प्रथम उपाधि हनुमन्तेश्वर माध्यमिक विद्यालय नमूनाले हात पारेको छ ।
पालिकाको आयोजनामा बिहीबारदेखि संचालन भएको प्रतियोगितामा हनुमन्तेश्वरले १३ स्वर्ण, पाँच रजत र दुई कास्य सहित २० पदक प्राप्त गर्दै रनिङ सिल्ड हात पार्न सफल भएको हो । त्यसैगरी प्रतियोगिता जनज्योति माध्यमिक विद्यालय दोस्रो बनेको छ । जनज्योतिले छ स्वर्ण, तीन रजत र पाँच कास्यसहित १४ पदक प्राप्त गर्दै दोस्रो बनेको हो । त्यसैगरी खेल व्यवस्थापक विद्यालय कालिढुङ्गा माध्यमिक विद्यालय दुई स्वर्ण पाँच रजत तीन कास्य सहित १० पदक प्राप्त गर्दै प्रतियोगितामा तेस्रो बन्यो । प्रतियोगितामा जलदेवि माध्यमिक विद्यालयले एक स्वर्ण सहित नौ पदक प्राप्त गरेको छ भने अन्य सहभागी पाँच विद्यालय भने स्वर्ण पदक विहीन बनेका छन् । प्रतियोगितामा विष्णु माध्यमिक विद्यालयले एक रजत पाँच कास्य सहित छ पदक, क्षेत्रवती माध्यमिक विद्यालय तीन रजत दुई कास्य सहित पाँच पदक प्राप्त गरेको छ । त्यसैगरी वैतेश्वर माध्यमिक विद्यालयले एक रजत एक कास्य सहित दुई पदक प्राप्त गरेको छ । प्रतियोगितामा कालिका माध्यमिक विद्यालय र लालिगुराँस स्कुल भने पदक विहीन बनेका छन् । विजयी खेलाडीहरुलाई दोलखाका पूर्व जिविस सभापति रुद्रबहादुर खड्काले पुरस्कार वितरण गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा भलिबल, एथलेटिक्स दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू खेलाइएको वैतेश्वर गाउँपालिका खेल प्रशिक्षक दिपक तामाङले जानकारी दिए ।