काठमाडौं । कफी पारखीहरुमाझ छुट्टै विशिष्ट स्थान बनाउन सफल भएको नेपाली कफी थाइल्याण्डको पतैया सहरमा पनि विस्तार भएको छ । नेपालको आफ्नो डाँडापाखामा उत्पादन भएको उच्चगुणस्तरको नेपाली कफीलाई विश्वबजारमा पुर्याउने उद्देश्यअनुरुप थाइल्याण्डमा नेपाली कफीको पहिलो आउटलेट खोलिएको नेपाली कफीका सञ्चालक सञ्जिव गुरुङ बताउँछन् ।
काठमाडौंको डिल्लीबजारमा युरो एस इन्टरनेसनल नामक शैक्षिक परामर्श केन्द्र र नेपाली कफी सञ्चालन गर्दै आएका गुरुङले अन्य क्षेत्रमा पनि नेपाली कफीको माग बढ्दै गएको फ्रेन्चाइजको लागि धेरै प्रस्तावहरु आउने गरेको बताउँदै निकट भविष्यमा नै अन्य क्षेत्रहरुमा पनि नेपाली कफी सञ्चालन गर्ने बताए । काठमाडौंका नाम चलेका अन्य कफी हाउसहरुमा कफी खानु र हाम्रो कफी खानुको कफीको स्वादमा नै आकाश–जमिनको फरक हुन्छ । धेरैले नेपालमा नै उत्पादित कफी भन्दै उपभोक्तालाई झुक्याउँदै आयातित कफी बेच्दै आएका छन् ।
‘नेपालमा उत्पादित कफीले नेपालको कुल बजार माग १० प्रतिशत पनि धान्न नसक्ने अवस्थामा नेपाली कफी भन्दै उपभोक्ता झुक्याउनु उपभोक्ता अधिकारमाथिको खेलबाड हो’, उनी भन्छन्, ‘यो अवस्थामा हामीले भने नेपालमा नै उत्पादित कफीलाई ब्रान्डिङ गर्ने उद्देश्यले यो कफी सञ्चालनमा ल्याएका हौँ ।’