काठमाडौं । भारतको पुणेमा आयोजित भारत इन्टरनेशनल ट्राभल मार्ट (आईआईटीएम)ले नेपाललाई वर्षको उत्कृष्ट साहसिक पर्यटन गन्तव्यको रूपमा सम्मानित गरेको छ ।
नोभेम्बर २७ देखि २९ सम्म भारतको पुणेमा आयोजित आईआईटीएममा अवाड्र्स नाइट २०२५का क्रममा नेपाललाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्ड सदस्य नरेन्द्र भट्ट र वरिष्ठ अधिकृत नरायण बस्यालले ग्रहण गरेका थिए । अवार्ड समारोहमा आयोजित ‘डेस्टिनेसन प्रेजेन्टेसन’ सत्रमा बोर्डका वरष्ठ अधिकृत रोबिन रेग्मीले नेपालको विविध पर्यटन आकर्षणहरू, बुद्ध सर्किट, रामायण सर्किट, तथा अन्तरदेशीय इको–ट्रेलहरूजस्ता पर्यटन उत्पादन समेटिएको एक प्रभावशाली अडियो–भिजुअल प्रस्तुति दिएका थिए । यसमा नेपालमा युनेस्को विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरू, आध्यात्मिक तीर्थाटन मार्गहरू, विश्वस्तरीय ट्रेकिङ तथा हिमाल आरोहण अवसरहरू, र रोमाञ्चक साहसिक खेलहरू प्रमुख आकर्षण रहेको बारे जानकारी गराइएको हो ।
आईआईटीएम पुणे २०२५मा नेपाल पर्यटन बोर्डको सक्रिय सहभागिताले भारतीय पर्यटन बजारसँगको सम्बन्ध अझ प्रगाढ बनाउने तथा नेपाललाई ‘अल सिजन डेस्टिनेसन’ र ‘लाइफटाइम एक्सपेरियन्स’ प्रदान गर्ने देशका रूपमा प्रवद्र्धन गरिएको बोर्डको नेतृत्व गर्दै कार्यक्रममा सहभागी वरिष्ठ अधिकृत रेग्मीले बताएका छन् ।
आईआईटीएममा नेपाल पर्यटन बोर्डले १५ वटा प्रमुख ट्राभल ट्रेड कम्पनीहरूसँगको सहकार्यमा भारतका यात्रा व्यवसायी तथा प्रमोटरहरूका माझ नेपालका विशिष्ट पर्यटन प्याकेज तथा आकर्षणहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । तीनदिने ट्राभल मार्टमा विश्वका विभिन्न मुलुकका सयौँ ट्राभल ट्रेड प्रतिनिधि तथा पर्यटन व्यवसायी र पर्यटकहरूको सक्रिय सहभागिता रहेको छ । बोर्डले आईआईटीएममा रहेको नेपाल पभेलियनमा नेपालका समृद्ध सांस्कृतिक सम्पदा, साहसिक गन्तव्य र अतिथि सत्कार प्रस्तुत गर्ने सशक्त मञ्च भएको उल्लेख गरेको छ । आईआईटीएम पुणे २०२५मा नेपाल पर्यटन बोर्ड तथा साझेदारहरूको सफल सहभागिताले नेपालप्रति भारतीय बजारमा उल्लेखनीय चासो र माग बढाउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए ।