काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको डिजिटल स्ट्रिमिङ पार्टनर डिसहोमसँगको सहकार्यमा ग्राहकका लागि एनपीएल प्ले प्याक सञ्चालनमा ल्याएको छ ।
यो प्याकका साथ ग्राहकहरुले डिसहोम गो एपमार्फत हाल भइरहेका खेलहरुको मजा आफ्नै मोबाइलमा लिन सक्छन् । ग्राहकले एनपीएल दोस्रो संस्करणका खेलहरु सहजरुपमा हेर्न सकुन भन्ने उद्देश्यले एनपीएल प्ले प्याक सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ग्राहकले बन्डल भएर आउने थप डेटा र सुविधाका आधारमा करसहित २९९ रुपैयाँ पर्ने यो एपीएल प्ले प्याक लिन सक्छन् । प्याकमा खेलको लाइभ मजा लिन डिसहोम गो एपमा सहज पहुँच सुनिश्चिन गरिएको छ । एनपीएल प्ले प्याकमा ग्राहकले २८ दिनका लागि मान्य रहने एक जीबी डेटा बन्डल सेवाका रुपमा पाउँछन् । ग्राहकले एनसेल एप वा एस्ट्रिक्स१२३ह्यास डायल गरी सहजै यी प्याक खरिद गर्न सक्छन् भने मुलुकभर रहेका एनसेलका खुद्रा बिक्रेताहरुमार्फत पनि प्याक खरिद गर्न सकिन्छ । प्याक लिएपछि ग्राहकले आफ्नो मोबाइल नम्बरमा प्राप्त एसएमएफमार्फत डिसहोम गो एप लगइन गरी एनपीएलका खेलहरु लाइभ हेर्न पाउँछन् ।
एनसेलले एनपीएलसँग पहिलो संस्करणमा जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’का रुपमा सहकार्य जारी राखेको छ । यस पटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ भन्ने नाराका साथ एनसेल एनपीएलमा आबद्ध रहेको छ । एनपीएलका खेलहरुलाई थप रोमाञ्चक बनाउनका लागि एनसेलले एनपीएल फ्यान प्याकहरु पनि सर्वाजनिक गरिसकेको छ । यसैगरी एनसेल फाउन्डेसनले पनि गत वर्षजस्तै यस वर्ष पनि व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गतको कामलाई जारी राखेको छ । जसमा एनपीएलका खेलमा प्रहार हुने प्रत्येक चौका वापत एनसेलले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री प्रदान घोषणा गरेको छ ।