म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गर्दा बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट ग २ ख ०८४० नं को ट्रक सोमबार बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित म्याग्दी नदीमा खसेका चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चालाई प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले उद्धार गरेको हो । चालकको निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
चालकको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । प्रहरीका अनुसार नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक फापरखेतको पहिरोले बर्खायाममा दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो ।