काठमाडौं । धितोपत्र बजारमा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाको प्रभाव खासै देखिएन । नेपाल राष्ट्र बैंकले आज सोमबार चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेपनि यसदिन नेप्से परिसुचक एवं कारोबार रकम दुबै खुम्चिएको छ ।
अघिल्लो दिन २६ दशमलव ५१ अंकले खुम्चिएको बजार परिसुचक आजपनि चार दशमलव २८ अंकले ओरालो लागेर २६ सय ४५ दशमलव २४ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले ओरालो लागेर चार सय ५५ दशमलव २६ बिन्दुमा खुम्चिएको छ । धितोपत्र बजारमा आज तीन सय २५ वटा कम्पनीहरुको ६० हजार छ सय २० पटकको कारोबारमा एक करोड आठ लाख ६० हजार आठ सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार पाँच सय ८० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेपनि बाँकी उपसमुहहरुको सुचक ओरालो लागेको छ । जसमध्ये बिकास बैंक, फाईनान्स, जलबिद्युत, उत्पादनमुलक र लघुवित्त उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् ।