काठमाडौं । २०२५ नोभेम्बरमा भएको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फको परीक्षामा सहभागी भएकाहरू आगामी वर्ष दक्षिण कोरिया जाने सूचीमा समावेश हुनेछन् । नोभेम्बर १७ देखि डिसेम्बर २२ सम्म सञ्चालन हुने उत्पादनमूलक क्षेत्रतर्फका सहभागी परीक्षार्थीहरू सन् २०२६ को लागि कोरिया रोजगारीको सूचीमा रहनेछन् ।
एक महिना बढी समय सञ्चालन हुने परीक्षामा ६७ हजार दुई सय ९७ जना परीक्षार्थीले सहभागिता जनाउने ईपीएस शाखा ग्वार्कोले जनाएको छ । एक सिफ्टमा दैनिक दुई सय जनाको परीक्षा हुनेछ । दैनिक चार सिफ्टमा आठ सय जनाले परीक्षा दिइरहेका छन् ।
परीक्षा अवधिभर ३० हजार चार सय जनाले परीक्षामा सहभागिता जनाउनेछन् । भाषा परीक्षामा सहभागीहरूको कोरिया जाने प्रक्रिया अघि बढे पनि सबै परीक्षार्थी जान भने सम्भव नहुने शाखाका सूचना अधिकारी राजकिशोर साहले जानकारी दिए । परीक्षामा सहभागीहरूले भाषा परीक्षा पास गर्नु अनिवार्य रहेको छ भने त्यसपछि अन्तरवार्तालगायतका चरणहरू पास गरी कोरिया जाने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । सम्पूर्ण प्रक्रिया पूरा गरेर रोस्टरमा नाम समावेश हुँदैमा मात्र कोरिया जान पाइँदैन । उनीहरू रोजगारदाताको छनौटमा पर्नु आवश्यक छ ।
हाल २०२४ मा भाषा परीक्षा पास गरी प्रक्रिया पूरा गरेका तीन हजार पाँच सय जना रोस्टरमा रहेका छन् । उनीहरूमध्ये विभिन्न समयमा श्रम स्वीकृति लिई कोरिया गइरहेका छन् । पछिल्लो तीन चार महिनामा करिब एक हजारको संख्यामा नेपाली युवाहरू कोरियाको रोजागारीमा गइरहेको शाखाले जनाएको छ । हाल परीक्षा दिएकाहरू सन् २०२६ का लागि रोस्टरमा समावेश हुनेछन् । मानव संशाधन बोर्ड (एचआरडी) कोरियाले सन् २०२६ का लागि भन्दै कात्तिक २० देखि नेपालका लागि भाषा परीक्षा गराउने गरी अनौपचारिक मिति तय गरेर सूचना दिएको थियो ।
एचआरडी कोरियाले एक लाख दुई हजार पाँच सय १५ जना परीक्षार्थीका लागि तत्काल भाषा परीक्षा गराउने गरी तालिका प्रकाशित गरेको थियो, तर भदौ २३ र २४ मा उत्पन्न परिस्थितिका कारण परीक्षा हुन सकेको थिएन जसले गर्दा भाषा परीक्षा ढिलो हुन गएको हो ।
परीक्षालगायतका तयारी सकिएपछि कोरिया जाने रोस्टरमा युवाहरू समावेश गरिने शाखाले जनाएको छ । रोस्टरमा समावेश भएकामध्ये रोजगारदाताको छनौटमा परेमा सोही वर्ष नपरेको खण्डमा पछि कोरिया जान सक्ने शाखाका अधिकारीहरू बताउँछन् । कोरियाको रोजगारी आकर्षक भएको कारण युवाहरूको आकर्षण बढ्दो रहेको छ ।
नेपालका साथै बंगलादेश, श्रीलंका, थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडियालगायतका १६ वटा मुलुकबाट कोरियाले श्रमिक लैजाने गरेको छ । कोरियाले १७ ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिका माग गर्दै आएको छ । सन २०२४ मा मात्र १४ हजार चार सय ९३ जना युवा कोरिया प्रवेश गरेका छन् । सन् २०२३ मा १९ हजार दुई सय १४ जना र सन् २०२२ मा १४ हजार जना नेपाली युवा कोरिया गएका थिए ।
कोरियामा सबैभन्दा बढी कृषि र उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिकहरूले काम गर्न पाउने व्यवस्था छ । तीन सय जनाभन्दा कम कामदार रहेको साना तथा मझौला उत्पादनमूलक कम्पनीहरू र कृषि र पशुपालन क्षेत्रसँग सम्बन्धित कम्पनीहरूमा उनीहरू श्रमिकको रूपमा रहन्छन् । आकर्षक तलबका कारण कोरिया रोजगारी नेपाली समाजमा आकर्षण रहेको पाइन्छ । मासिक एक लाख ५० हजार तलब बुझ्ने तथा थप समय काम गरेबापत तीनदेखि चार लाख रुपैयाँसम्म पाउने हुँदा नेपाली श्रमिक कोरियाली रोजगारीमा आकर्षित भएको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन् । यतिमात्र सीमिति नभई नेपाल र कोरियाको अर्थतन्त्रमा समेत नेपाली श्रमिकको योगदान रहेको पाउन सकिन्छ । यसैबीच वर्तमान सरकराले रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन समेत माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङले नेपालका लागि कोरियाका राजदूत पार्क ताइयोङसँगको शिष्टाचार भेटवार्तमा उक्त माग गरेका हुन् । मन्त्री घिसिङले रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया जाने नेपाली श्रमिकको कोटा बढाउन एवं कोरिया जानुपूर्व सीप विकास तालिम र फर्किएपछि त्यहाँ हासिल सीपलाई स्वदेशमा प्रयोग गरी उद्यमशीलतामार्फत रोजगारी सिर्जनाका लागि सहयोग गर्न राजदूत ताइयोङसँग आग्रह गरका हुन् ।