फुङलिङ । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमको कमान्डमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले हिमाली क्षेत्र केन्द्रित सीमा नाका अनुगमन गरेको छ ।
गौतमका अनुसार ९ जनाको प्रहरी टोलीले फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका घुन्सा, खाम्बाचेन, लोनाक हुँदै उत्तरी कञ्चनजङ्घा बेस क्याम्पसम्मको अनुगमन गरेको छ । अत्यन्तै दुर्गम, हिमाली तथा सीमावर्ती क्षेत्रमा हुने चोरीको निगरानी, अवैध हिमाली जडीबुटी तथा वन्यजन्तुको ओसारपसार नियन्त्रण र प्रहरी सेवा प्रवाह सुदृढीकरण तथा स्थानीयलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यका साथ उक्त क्षेत्रमा अनुगमन गरिएको गौतमले बताए ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक सेवा प्रवाह, सूचना आदानप्रदान र पहाडी तथा हिमाली क्षेत्रका नागरिकले भोग्ने समस्या सम्बन्धमा पनि छलफल गरिएको जनाएको छ । साथै अनुगमनका क्रममा टोलीले स्थानीय बासिन्दा, होटल व्यवसायी, पर्यटकहरूसँग भेटघाट गर्दै सुरक्षासम्बन्धी सुझाव सङ्कलन गरेको छ ।
कठिन भौगोलिक अवस्था, कठोर मौसम तथा लामो दूरीको यात्रा बावजुद टोलीले निर्धारित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको बताइएको छ ।