काठमाडौ । निजी क्षेत्रका प्रतिनिधिहरूले गलत सूचना, आर्थिक अनिश्चितता, कमजोर लगानी–सुरक्षा र नीतिगत अस्थिरताका कारण मुलुकको लगानी वातावरण झनै जटिल बन्दै गएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सवमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूले सरकारलाई लगानीमैत्री, सुरक्षित र विश्वसनीय वातावरण बनाउन तत्काल कदम चाल्न आग्रह गरेका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट फैलिने गलत सूचनाले निजी क्षेत्रको मनोबलमा ठूलो नकारात्मक असर पारेको बताए । जेनजी आन्दोलनका क्रममा गलत सूचनाका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै उनले भने, ‘गलत सूचना कस्तो विनाशकारी हुन सक्छ भन्ने उदाहरण हामीले हालै जेन–जी आन्दोलनमा भोग्यौँ ।’ उनले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न विश्वसनीय सूचना प्रवाह, सुशासन र सहज सेवाको आवश्यकता औँल्याए । लगानीलाई प्रोत्साहन दिने वातावरणका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र सहज सेवा प्रवाह अनिवार्य रहेको भन्दै उनले सरकारसँग निजी क्षेत्र लामो समयदेखि यिनै माग राख्दै आएको बताए ।
‘निजी क्षेत्र नै अर्थतन्त्रको इन्जिन हो । तर हरेक राजनीतिक आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण हुने क्रमले लगानी उत्साह घटाएको छ,’ उनले भने । अध्यक्ष ढकालले मुलुकमा केही पनि काम नभएको जस्ता नकारात्मक धारणा चिर्नुपर्ने बताए । राज्यबाट व्यक्त गरिएका नीति तथा प्रतिबद्धता कार्यान्वयनमा गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राज्यले ढिलो नगरी लगानीकर्ताको मनोबल उकास्ने ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए । पर्याप्त तरलता, ब्याजदरमा सुधार र अनुकूल बाह्य वातावरण हुँदाहुँदै पनि लगानी नबढ्नु चिन्ताजनक रहेको उल्लेख गर्दै उनले आर्थिक क्षेत्रका सबै समस्याको समाधान अनिवार्य रहेको बताए । उनले भने, ‘बाह्य क्षेत्र राम्रो छ, बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ, ब्याजदरमा सुधार छ । तर लगानी बढ्न सकेको छैन । समग्र अर्थतन्त्रलाई असर नपुगोस् भन्न आर्थिक क्षेत्रका सबै समस्याको समाधान गर्नुपर्छ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुुमार अग्रवालले निजी क्षेत्रको मनोबल उकास्नका लागि लगानी प्रवद्र्धन तथा सुुरक्षाको प्रत्याभूूति आवश्यक रहेको बताए । उद्यमी व्यवसायीहरुलाई सहजता प्रदान गर्न लगानीमैत्री वातावरण सिर्जना गर्न प्रभावकारी नीतिगत व्यवस्था हुुनुुपर्नेमा उनले जोड दिए । विदेशी लगानीकर्ताको सुरक्षाजस्तै स्वदेशी लगानीकर्ता संरक्षणका लागि पनि ठोस नीतिगत व्यवस्था आवश्यक रहेको उनले बताए । लगानी वातावरण, रोजगारी श्रृजना, राजस्व संकलन, वित्तीय स्थिरतालगायतका आर्थिक चुुनौतीहरु मुुलुुकले भोगिरहेको उनको भनाइ छ । करिब छ वर्षदेखि नै कोभिड १९ को प्रभाव र त्यसपछिको अर्थतन्त्रको कुुशल व्यवस्थापन हुन नसक्दा अर्थतन्त्र शिथिलताबाटै गुुज्रिरहेको उनले बताए । उनले भने, ‘अपार प्राकृतिक स्रोतहरुले भरिपूूर्ण हाम्रो देशमा लगानीमैत्री आर्थिक नीतिहरुको अभावले आर्थिक समृद्धि हासिल गर्नुु त परै जावस आफ्नो युवा जनशक्तिका लागि रोजगारी समेत सिर्जना हुुन सकेको छैन ।’
अध्यक्ष अग्रवालले कर्जाको पुनर्संरचना प्रभावकारीरूपमा लागू गर्नुपर्ने, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन खारेज गर्नुपर्ने, मूल्य अभिवृद्धि कर (भ्याट)मा बहुदर कायम गरी सरल बनाउनुपर्ने, नकारात्मक सूचीका वस्तुबाहेक अन्य वस्तुमा अन्तःशुल्क दर घटाउनुपर्ने, निर्यात अनुदान निरन्तरता दिनुपर्ने, सहकारी संकट समाधानका लागि उधारो असुलीसम्बन्धी कानुन बनाउनुपर्ने लगायतका सुझाव दिए ।