काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारले बजेटको प्रभावकारी कार्यान्वयन नै अर्थतन्त्रलाई गतिशील बनाउने मुख्य आधार भएको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित ‘बजेट वाच’ सम्बन्धी कार्यक्रममा अध्यक्ष पाण्डेले बजेट लक्ष्य महत्त्वाकांक्षी रहेपनि कार्यान्वयन भने निरन्तर कमजोर हुँदै आएको उल्लेख गरे । परिसंघले अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राख्दै नीति निर्माणका चरणमै सुझाव दिने गरेको उनले बताए । निजी क्षेत्रका धेरै नीतिगत सुझाव बजेटमा समावेश भएपनि कार्यान्वयन चरणमा पुग्दा निराश हुनुपर्ने अवस्था रहेको उनले गुनासो गरे । उनका अनुसार पुँजीगत खर्च वृद्धि, बजेटले तोकेको लक्ष्य प्राप्ति र समग्र अर्थतन्त्रमा सुधारका लागि बजेटको सफल कार्यान्वयन अत्यावश्यक छ ।
उनले भने, ‘बजेटको सफल कार्यान्वयनले नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुन्छ । त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्वपूर्ण छ ।’ यसै उद्देश्यले परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग सहकार्यमा तीन आर्थिक वर्षदेखि ‘सार्वजनिक–निजी संवाद बजेट वाच पहल’ सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
पाण्डेले औद्योगिक विकासलाई आर्थिक समृद्धिको मूल आधारको रूपमा प्रस्तुत गर्दै स्वदेशी उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न नीतिगत सुधार आवश्यक भएको बताए । ‘स्वदेशी उत्पादन बढाउन सकेनौं भने आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुँदैन,’ उनले भने । अहिले नेपालको जस्तै अर्थतन्त्र भएका मुलुकहरू छिट्टै आर्थिक उचाइमा पुगेको स्मरण गराउँदै उनले नीति स्थिरता, उत्पादनमूलक उद्योगको संरक्षण र नयाँ उद्योग स्थापना प्रोत्साहनमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । औद्योगिकीकरणलाई प्राथमिकता दिए छिट्टै प्रगति गर्न सकिने उनको विश्वास छ । आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ । अध्यक्ष पाण्डेले आगामी बजेटले पनि आत्मनिर्भरता, औद्योगिक विस्तार र आर्थिक स्थायित्वलाई केन्द्रमा राख्नुपर्ने सुझाव दिए ।