काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत् आयोजनाको वित्तिय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना निर्माणका लागि सोमवार कुमारी बैंकको अगुवाइमा पाँच वटा बैंकले साँढे नौ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन् ।
सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् । मनाङस्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नार खोला जलविद्युत् आयोजना निर्माण गरिनेछ ।
आयोजनाको प्रबद्र्धक कम्पनि नार खोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो । नार खोला जलविद्युत् आयोजनाको ग्रस हेड पाँच सय ८८.८२ मिटर रहने र वार्षिक तीन सय ६६.४८ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाले वार्षिक दुई अर्ब १० करोड रुपैयाँको विद्युत् बिक्री गर्नेछ । ६१.११ मेगावाट विद्युत् उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका तीनवटा टर्बाइन प्रयोग हुनेछन् । आयोजनाको हेडरेस टनेल करिब आठ किलोमिटर लम्बाइको रहनेछ ।
आयोजनाको बाँधका संरचनाहरू नार्पा भूमि गाउँपालिकामा र विद्युत्गृह नासो गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेसनमा जोडिने छ । आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा बैंकको कर्जा नौ अर्ब ६३ करोड रुपैयाँ र स्वपुँजी तीन अर्ब २१ करोड रुपैयाँ लगानी हुनेछ । स्वपँुजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ । आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरु गरिसकेको र तीन महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरु गरेर आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जानकारी दिएको छ ।