काठमाडौं । नेपालमा पहिलो पटक ग्रीन स्किल्स एड्भाइजरी बोर्डको औपचारिक शुभारम्भ गरिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (टीभीईटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सरोकारवालाहरूको सहकार्यमा यो बोर्डको गठन गरिएको हो ।
बोर्डले नेपालमा हरित सीपसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, वातावरणमैत्री तालिम नीति निर्माणका लागि संवाद गर्ने, तालिम प्रवर्द्धन र रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेषगरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटनलगायतका क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो । बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वव्यापीरूपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्यसहित समग्र विश्वमा गम्भीर नकारात्मक असरहरू देखापरेको सन्दर्भमा यो पहलले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले शिक्षालाई सीप र सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्दै जानुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापीरूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नुपर्ने बताए । ‘हाम्रा उद्योग व्यवसायहरू पनि वातावरणमैत्री सीपको अवलम्बन गर्न तयार हुँदैछन् । सीप विकासलाई वातावरणमैत्री बनाउनका लागि तालिम र रोजगारीमा योगदान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार छ’, उनले भने । जीसावको माध्यमबाट सार्वजनिक–निजी साझेदारीलाई अझ मजबुत बनाउन सकिने उनको भनाइ छ । यसले नेपालको युवा शक्ति दिगो रोजगारतर्फ उन्मुख हुने र भविष्यमा हरित अर्थतन्त्रको विकासलाई टेवा पुर्याउने बताए ।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालले सन् २०४५ सम्ममा नेट जेरो कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्यलाई यो पहलले योगदान गर्ने बताए । सीटीईभीटीका सदस्य सचिव इन्जिनियर महेश भट्टराईले नेपाललाई हरित सीपको माग सम्बोधन गर्न साझेदारी विकास गर्ने र कार्बन न्यूट्रालिटी हासिल गर्ने राष्ट्रिय लक्ष्यमा योगदान पु¥याउन बोर्डले सहयोग गर्ने उल्लेख गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले वातावरणमैत्री सीपको विकास, प्रवर्द्धन तथा कार्यान्वनमा परिसंघ प्रतिबद्ध रहेको बताए । नेपाल निर्माण व्यवसायी महासंघका रवि सिंहले वातावरण संरक्षण र हरित सीप आजको आवश्यकता भए पनि हरितको नाममा विकासलाई बाधा पार्न नहुने र दिगो विकासलाई प्र्राथमिकता राख्नुपर्नेमा जोड दिए ।