काठमाडौं । नेपालका पर्यटन उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवद्धर्नका लागि नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगमबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौतापत्रमा निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका हुन् । दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएका छन् । यो सहमतिपछि नेपालको पर्यटन कूटनीति नयाँ चरणमा प्रवेश गरेको बताइएको छ । समझदारीपत्रअनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड शो, पत्रकार सम्मेलन, फ्याम ट्रिपलगायत सबै प्रमुख प्रवद्धर्नात्मक कार्यक्रमहरूमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’का रूपमा निःशुल्क सहभागिता प्रदान गर्नेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा एक सय किलोसम्मका प्रवद्धर्न सामाग्री निःशुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने तथा रियायती टिकट सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ ।
दुवै संस्थाले अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रभावशाली व्यक्तित्व, पत्रकार, ब्लगर, टुर अपरेटर्स र सेलिब्रिटी सहभागी हुने फ्याम ट्रिपहरूमा सामूहिक रूपमा काम गर्नेछन् । नेपालका पर्यटकीय गन्तव्य तथा उत्पादनको डिजिटल विज्ञापन, प्रमोसन भिडियो, संयुक्त ब्रान्डिङ, वेबसाइट लिंक–सपोर्ट, संयुक्त होर्डिङ बोर्डलगायत सामाग्री उत्पादनलाई पनि नयाँ रूपले एकीकृत गर्ने समझदारीपत्रमा उल्लेख छ । बोर्ड र नेपाल वायुसेवा निगम दुवैले आवश्यक परेको अवस्थामा संयुक्त ब्रोसर, गाइडबुक, पोस्टर तथा सांस्कृतिक विविधता झल्किने सामाग्री निर्माण गर्ने र विदेशी राष्ट्रिय दिवस वा व्यापारिक कार्यक्रमहरूमा संयुक्त उपस्थिति जनाउने सहमति समेत गरेका छन् । नेपालभित्र विदेशी कलाकार, फिल्म उत्पादक, खेलाडी तथा खेलकुदमा संलग्न व्यक्तिहरू तथा सेलिब्रिटी सहभागी हुने मेगा–इभेन्टमा पनि निगमले सहुलियत टिकट उपलब्ध गराउनेछ ।
यस सहकार्यका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन संरचना बढी गतिशील, समन्वित र परिणाममुखी बन्ने अपेक्षा गरिएको छ । दुवै संस्थाले हरेक छ महिनामा संयुक्त प्रतिवेदन तयार पारेर कार्यक्रमहरूको प्रभावकारिता मूल्यांकन गर्नेछन् । समझदारीपत्र हस्ताक्षरपछि बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदम भएको बताए । दुवै संस्थाबीचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’लाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्ने उनको भनाइ छ । विमानस्थलदेखि गन्तव्यसम्म एकीकृत प्रवद्धर्नले नेपालको पहिचान थप स्पष्ट र प्रभावकारी बन्ने उनले बताए ।