काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ बुधबार नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दैै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताए ।
“नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ ।” उनले भने ।
उनले भनेका छन्, “अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पुर्याउने मैले विश्वास लिएको छु ।”
सन् १९९२ देखि अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो ।