काठमाडौँ । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मूल समारोह समितिले बुधबार भृकुटीमण्ड परिसरमा आयोजना गरेको समारोहमा मन्त्री खरेलले सरकारले अपाङ्गमैत्री नीतिगत र संरचनागत सहकार्य गर्ने विश्वास व्यक्त गरे । उनले अपाङ्गता भएका व्यक्तिको सहयोगी निर्देशिका चाँडै कार्यान्वयनमा ल्याइने विश्वास व्यक्त गरे ।
“यसअघि राजनीतिक दलका नेताले गर्छु भने गरेनन् तर, म गर्छु भन्दिन । गरिसकेपछि गरेँ है भनेर भनौँला । हाम्रो देशमा गर्छु भन्ने रोग छ”, मन्त्री खरेलले भने ।
सामाजिक न्याय, समता, समानता तथा विवेधरहित समाज निर्माण र सामाजिक विभेदको अन्त्य गर्न सरकार प्रतिवद्धताका साथ लाग्ने बताउदै सञ्चारमन्त्री खरेलले सरकारकोतर्फबाट निर्देशिका कार्यान्वयनमा ल्याउने र कम्तिमा सानो रूपमा भए पनि गम्भीर रूपमा अपाङ्गता भएका नेपाली दाजुभाई दिदीबहिनीका लागि केही न केही प्रक्रियाको प्रारम्भ गरिने स्पष्ट पारे ।
‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ नाराका साथ यस वर्ष अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तरराष्ट्रिय दिवस मनाइएको छ । सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा पनि सरकार अपाङ्गता भएका व्यक्तिको साथमा रहेको जानकारी गराइसकेकाले यसलाई अगाडि बढाउने कुरामा सरकारलाई सहयोग पुग्ने बताए ।
अपाङ्गता भएका नागरिकको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो । दिवसले अपाङ्गता भएका व्यक्तिको अधिकार, समानता, समावेशिता र सम्मानलाई सुनिश्चित गर्ने साझा संकल्पलाई पुनः स्मरण गराएको छ ।
नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने तथा सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको भए पनि व्यवहारिक रूपमा पूर्ण कार्यान्वयन हुनुपर्ने माग उठ्दै आएको छ ।