काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमै निर्वाचन गरेर देश युवाशक्तिको हातमा जिम्मा लगाउने बताएकी छिन् ।
२२औँ ज्यापु दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्ने बताइन् । त्यसको लागि सरकार निर्वाचनको तयारीमा जुटेको उनको भनाइ छ । सरकारले आगामी फागुन २१ गते आमनिर्वाचन गराइ युवा शक्तिको हातमा सत्ता सुम्पेर मुलुकलाई तीव्र विकासको मार्गमा लैजानु नै हाम्रो दायित्व हो । उनले भनिन्, ‘घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित सरकार पूर्णरूपमा तयारीमा जुटिरहेको छ । यस अभियानलाई सफल बनाउन सबै नेपालीद्वारा सहयोगको अपेक्षा गर्दछु ।’ यस्तै देशलाई दू्रत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्षलाई एकजुट हुन आह्वान गरिन् ।
उनले पाँच सय भन्दा बढी गुठीहरूले सम्हाल्दै आएको सांस्कृतिक परम्परा, जात्रा–पर्वलाई संरक्षण र प्रबर्द्धन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । त्यसका लागि सरकारले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संस्कृतिलाई पर्यटनसँग जोडेर अन्तरराष्ट्रिय बजारमा प्रबद्र्धन गर्ने क्रममा मौलिक नीतिहरूलाई जोगाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।